मान्म (कालीकोट), १४ वैशाख । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा आजदेखि देशभर एकैसाथ सुरु भएको छ। यसै क्रममा कालीकोट जिल्लामा पनि बिहान ८ बजेदेखि शान्तिपूर्ण रूपमा परीक्षा सुरु भएको छ।
शिक्षा विकास तथा समन्वय इकाइ कालीकोटका प्रमुख हर्ष प्रसाद चौलागाईका अनुसार जिल्लाभरका १२ वटा परीक्षा केन्द्रबाट कुल २ हजार ५ सय ६८ जना विद्यार्थीहरू परीक्षामा सहभागी भइरहेका छन्। जिल्लाका सबै केन्द्रहरूमा तोकिएकै समयमा प्रश्नपत्र पुगेको र परीक्षा मर्यादित रूपमा सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो।
परीक्षालाई निष्पक्ष, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था निकै कडा पारिएको छ। कालीकोटका प्रमुख जिल्ला अधिकारी गोकर्ण राज सुयलले सबै परीक्षा केन्द्रहरूमा पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको र शान्ति सुरक्षाको अवस्था व्यवस्थित रहेको बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई ढुक्क भएर परीक्षा दिने वातावरण मिलाइएको र परीक्षामा अमर्यादित गतिविधि हुन नदिन निगरानी बढाइएको समेत जानकारी दिनुभयो।
जिल्लाका दुर्गम क्षेत्रमा रहेका परीक्षा केन्द्रहरूमा पनि परीक्षालाई व्यवस्थित बनाउन अनुगमन टोली खटाइएको छ। कक्षा १२ को यो परीक्षा आगामी वैशाख २६ गतेसम्म सञ्चालन हुनेछ।