काठमाडौँ, ११ वैशाख । विभिन्न स्थानीय तहमा सरुवा भएर पनि हाजिर हुन नगई साविककै कार्यालयमा बसिरहने १६ जना प्रमुख प्रशासकीय अधिकृतहरूलाई सरकारले अन्तिम चेतावनी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो वैशाख १० गते एक पत्र जारी गर्दै उपसचिव र शाखा अधिकृत स्तरका ती कर्मचारीहरूलाई ३ दिनभित्र अनिवार्य रूपमा खटाइएको ठाउँमा जान निर्देशन दिएको हो।
गत २०८२ साल भदौदेखि चैत महिनासम्मको अवधिमा विभिन्न नगरपालिका र गाउँपालिकाहरूमा सरुवा गरिएका यी कर्मचारीहरूले लामो समय बितिसक्दा समेत रमाना लिएका थिएनन्। मन्त्रालयको निर्देशनलाई अटेर गरी शक्ति केन्द्रको आडमा पुरानै कार्यस्थलमा बसिरहने प्रवृत्तिको अन्त्य गर्न मन्त्रालयले यो कडा कदम चालेको हो।
हुने भयो कानुनी कारबाही
मन्त्रालयले तोकिएको समयभित्र रमाना नलिएमा निजामती सेवा नियमावली, २०५० को नियम ३९ र ४० बमोजिम विभागीय कारबाही गर्ने चेतावनी दिएको छ। नियम ३९ मा सरुवा भएको कर्मचारी समयमै हाजिर हुनुपर्ने व्यवस्था छ भने नियम ४० मा आदेश पालना नगर्ने कर्मचारीलाई गरिने सजायको व्यवस्था छ।
मन्त्रालयका अनुसार स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नजाँदा दैनिक कामकाज, विकास निर्माण र सेवा प्रवाह ठप्प हुने गरेको जनगुनासो बढेपछि यो कठोर निर्णय लिनुपरेको हो। “खटाइएको ठाउँमा जान नमान्ने र साविककै कार्यालयमा ओगटेर बस्ने विकृतिलाई अब सहिने छैन,” मन्त्रालय स्रोतले जनाएको छ। आगामी दिनमा पनि अवधि पुगेर पनि हाजिर हुन नजाने अन्य कर्मचारीहरूमाथि समेत कडा कानुनी कारबाही चलाइने मन्त्रालयले स्पष्ट पारेको छ।