रास्कोट, ७ वैशाख । कालीकोटका दुर्गम क्षेत्रका नागरिकका लागि आज वैशाख ७ गते एक ऐतिहासिक दिन बनेको छ। लामो समयको प्रतीक्षापछि ईलाका प्रशासन कार्यालय, रास्कोटबाट आजैका मितिदेखि नागरिकता र राष्ट्रिय परिचयपत्र लगायतका प्रशासनिक सेवाहरू नियमित रूपमा सुचारु भएका छन्। यससँगै नागरिकता लिनका लागि घण्टौँको पैदल यात्रा र खर्चिलो गाडी भाडा तिरेर जिल्ला सदरमुकाम मान्म धाउनुपर्ने रास्कोट क्षेत्रका सेवाग्राहीको बाध्यता सधैँका लागि अन्त्य भएको छ।
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार स्थापना भएको यस कार्यालयले आजदेखि रास्कोट नगरपालिका, पलाँता गाउँपालिका, पचालझरना गाउँपालिका र सान्नीत्रिवेणी गाउँपालिकाका बासिन्दाहरूलाई घरदैलोमै प्रशासनिक सेवा प्रदान गर्न सुरु गरेको हो। अब यी चारवटा स्थानीय तहका नागरिकले नागरिकता जारी गर्ने, राष्ट्रिय परिचयपत्रको आवेदन दिने र कार्ड बुझ्ने जस्ता कामका लागि सदरमुकाम मान्म पुग्नुपर्ने छैन।
यसअघि वैशाख ६ गते नै जिल्ला प्रशासन कार्यालयले एक परिपत्र जारी गर्दै उल्लेखित पालिकाहरूका वडा कार्यालयहरूलाई अबदेखि नागरिकताको अनलाइन सिफारिस गर्दा ‘ईलाका प्रशासन कार्यालय, रास्कोट’ नै छनौट गर्न निर्देशन दिइसकेको छ। यो व्यवस्थाले गर्दा प्रविधिको प्रयोगमार्फत सेवाग्राहीको काम स्थानीय स्तरमै छिटो, छरितो र झन्झटमुक्त हुने देखिएको छ।
लामो भौगोलिक दूरी पार गरेर सदरमुकाम पुग्दा हुने समय र आर्थिक क्षतिको अन्त्य गर्दै राज्यको उपस्थिति स्थानीय तहमै महसुस गराउन यो कार्यालयको भूमिका महत्वपूर्ण हुने सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले बताउनुभएको छ। आजदेखि रास्कोटमा सेवा सुचारु भएसँगै स्थानीय बासिन्दाहरूमा उत्साह छाएको छ भने यसले ‘गाउँ–गाउँमा सिंहदरबार’ को नारालाई थप मजबुत बनाएको छ।