मान्म, ५ वैशाख । कालीकोट जिल्ला अस्पतालमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KAHS), जुम्लाबाट आएका नर्सिङ विद्यार्थीहरूको दुई हप्ते प्रयोगात्मक अभ्यास (Field Posting) सफलतापूर्वक सम्पन्न भएको छ। ‘लिडरसिप म्यानेजमेन्ट’ (Leadership Management) विषय अन्तर्गत अस्पताल व्यवस्थापन र सेवा प्रवाहको अनुभव लिन आएका विद्यार्थीहरूले आफ्नो क्षेत्रमा उल्लेख्य सुधार गर्दै फिल्ड कार्य पुरा गरेका हुन्।
प्रतिष्ठानमा स्नातक तहमा अध्ययनरत BNS र BMS तेस्रो वर्षका विद्यार्थीहरूले अस्पतालमा रहँदा बिरामीको उपचार सेवा मात्र नभई अस्पतालको आन्तरिक व्यवस्थापन र सरसफाइ जस्ता पक्षमा समेत सकारात्मक परिवर्तन ल्याउन सक्रिय भूमिका निर्वाह गरेका थिए। दुई हप्ताको बसाई पछि विद्यार्थीहरूले अस्पताल प्रशासनलाई सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन आवश्यक पर्ने महत्वपूर्ण सुझावहरू समेत हस्तान्तरण गरेका छन्।
अस्पताल प्रशासनले विद्यार्थीहरूको कामको उच्च मूल्याङ्कन गर्दै उनीहरूले अस्पतालको सुधारमा पुर्याएको योगदानका लागि धन्यवाद ज्ञापन गरेको स्वास्थ्य सेवा कार्यालय कालीकाेटका सूचना अधिकारी कटक महतले बताउनु भयाे। अस्पतालका अनुसार यस्ता क्लिनिकल फिल्डले विद्यार्थीको सीप विकास हुनुका साथै अस्पताललाई समेत नयाँ ऊर्जा र सुधारका योजनामा सहयोग पुग्ने गर्दछ।
यस कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएकी क्लिनिकल सुपरभाइजर लेक्चरर एशिका बस्नेतलाई समेत अस्पतालले विशेष धन्यवाद दिएको छ। आगामी दिनमा पनि यस्तै क्लिनिकल फिल्डहरूलाई निरन्तरता दिने र दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा सहकार्य गर्ने विश्वास अस्पताल प्रशासनले लिएको छ। विद्यार्थीहरूको यो सक्रियताले स्थानीय स्तरमा स्वास्थ्य सेवाको गुणस्तरमा समेत सकारात्मक प्रभाव पारेको महसुस गरिएको छ।