गाल्जे, ४ वैशाख । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तिलागुफा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएका उपसचिव विष्णुप्रसाद काफ्ले आज कार्यालयमा हाजिर हुनुभएको छ। मन्त्रालयको २०८२ चैत्र १६ गतेको निर्णयानुसार अतिरिक्त समूहबाट सरुवा हुनुभएका काफ्ले निर्णय भएको १८ दिनपछि कार्यक्षेत्रमा पुगेर कार्यभार सम्हाल्नुभएको हो।
नगर कार्यपालिकाको कार्यालयमा आज आयोजित एक विशेष कार्यक्रमका बीच प्रमुख प्रशासकीय अधिकृत काफ्लेलाई जनप्रतिनिधि र कर्मचारीहरूले भव्य स्वागत गरेका छन्। लामो समयपछि नगरपालिकाले उपसचिव तहको नेतृत्व पाएपछि रोकिएका विकास निर्माणका काम र प्रशासनिक गतिविधिले गति लिने अपेक्षा गरिएको छ। स्वागत कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरूले अनुभवी प्रशासकको आगमनसँगै नगरपालिकाको कार्यसम्पादनमा सुधार आउने र सुशासन कायम हुने विश्वास व्यक्त गरे।

जिम्मेवारी सम्हाल्दै प्रमुख प्रशासकीय अधिकृत काफ्लेले मन्त्रालयले सुम्पेको जिम्मेवारीलाई इमानदारिताका साथ निभाउने र नगरपालिकाको सेवा प्रवाहलाई पारदर्शी एवं जनमुखी बनाउन आफू केन्द्रित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विकास निर्माणका योजनाहरूलाई समयमै सम्पन्न गर्न र प्रशासनिक सेवालाई झन्झटमुक्त बनाउन सबै कर्मचारी र जनप्रतिनिधिहरूको साथ आवश्यक रहेको बताउनुभयो।
आर्थिक वर्षको अन्तिम चरणमा आइपुग्दा अनुभवी नेतृत्वको उपस्थितिले तिलागुफा नगरपालिकाको बजेट कार्यान्वयन र योजनाहरूको फरफारकमा समेत सहजता आउने देखिएको छ। मन्त्रालयको निर्णय र उहाँको उपस्थितिले नगरपालिकामा देखिएको प्रशासनिक शून्यता अन्त्य भई नागरिकका दैनिक कामहरू थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।