मान्म, ४ वैशाख । कालीकोटको खाँडाचक्र नगरपालिका वडा नं. ६ मा सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले काम अलपत्र छाडेपछि वडा अध्यक्ष दिनेश बहादुर शाहीले कडा आक्रोश व्यक्त गर्नुभएको छ। ‘इम्री–खाडा सडक योजना’को काम गरिरहेको निशान निर्माण सेवाले लापरवाही गर्दा स्थानीयको जनजीवन अस्तव्यस्त बनेको भन्दै वडा अध्यक्ष शाहीले पूर्वाधार कार्यालय कालीकोटलाई पत्र लेख्दै ठेकेदारलाई तह लगाउन चेतावनी दिनुभएको हो।
७ दिन काम गरेर गायब भए ठेकेदार
चालु आर्थिक वर्षका लागि पूर्वाधार कार्यालयबाट विनियोजित बजेटअनुसार सडक खन्ने जिम्मा पाएको ठेकेदारले जम्मा ७ दिन मात्र काम गरेर मेसिन र जनशक्ति हटाएको पत्रमा उल्लेख छ। सडक निर्माणका क्रममा जथाभाबी खन्दा झोलुङ्गे पुल चुँडिएको छ भने इम्री र खाडा गाउँ जोड्ने पुस्तौँ पुरानो घोरेटो बाटो समेत पूर्ण रूपमा अवरुद्ध भएको छ। ठेकेदारको यो गैरजिम्मेवारीले गर्दा स्थानीय बासिन्दाहरूको दैनिकी कष्टकर बनेको छ।

स्कुले बालबालिका र खानेपानीमा संकट
बाटो अवरुद्ध भएपछि साना बालबालिकाहरू विद्यालय जानबाट वञ्चित भएका छन् भने गाउँमा आउने खानेपानी र सिँचाईको कुलो समेत भत्किएपछि स्थानीयले पिउने पानीको समेत अभाव झेल्नुपरेको छ। पटक–पटक आग्रह गर्दा र अनुनय विनय गर्दा समेत ठेकेदारले अटेरी गरेपछि वडा अध्यक्ष शाहीले प्रशासनिक निकायकै शैलीमा कडा पत्र लेख्नुभएको हो।
वडा अध्यक्षको आक्रोश: “रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर”
पूर्वाधार कार्यालयका प्रमुखलाई सम्बोधन गरिएको पत्रमा वडा अध्यक्ष शाहीले ठेकेदारलाई कडा कारबाही गर्न माग गर्नुभएको छ। उहाँले पत्रमा भन्नुभएको छ, “ठेक्का लिने तर आफ्नो कामप्रति उत्तरदायी नहुने ठेकेदारलाई सम्माननीय प्रधानमन्त्रीले भने जस्तै रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर, जसरी भए पनि स्थानीयको समस्या तत्काल समाधान गरियोस्।”
जनप्रतिनिधिको यो कडा पत्रले कालीकोटमा ठेक्का लिएर काम नगर्ने निर्माण व्यवसायीहरूमाथि कस्तो दबाब सिर्जना गर्छ भन्ने चर्चा सुरु भएको छ। वडा कार्यालयले विकासका नाममा जनतालाई सास्ती दिने काम तुरुन्त बन्द नभए थप कडा कदम चाल्ने चेतावनी समेत दिएको छ।