सुर्खेत, ३ वैशाख । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जयराज सापकोटालाई नेपाल सरकार गृह मन्त्रालयले विशेष प्रशंसा पत्र प्रदान गर्दै सम्मानित गरेको छ। गत २०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई कर्णाली प्रदेशभर शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न उहाँले निर्वाह गर्नुभएको कुशल नेतृत्व र सुरक्षा व्यवस्थापनको उच्च मूल्याङ्कन गर्दै मन्त्रालयले यो सम्मान प्रदान गरेको हो।
निर्वाचनका क्रममा कर्णालीको भौगोलिक विकटता र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै डिआइजी सापकोटाले प्रभावकारी सुरक्षा रणनीति र कमाण्ड प्रदर्शन गर्नुभएको थियो। उहाँको नेतृत्वमा प्रदेशका १० वटै जिल्लामा सुरक्षा संयन्त्रलाई चुस्त बनाइएको थियो, जसका कारण मतदाताहरूले ढुक्क भएर मतदान गर्ने वातावरण सिर्जना भएको थियो। निर्वाचन सुरक्षा तथा शान्ति सुव्यवस्था कायम राख्न पुर्याउनुभएको यही महत्वपूर्ण योगदानको कदर गर्दै गृह मन्त्रालयले उहाँलाई प्रशंसा पत्रमार्फत सम्मान गरेको हो।
यो सम्मानले कर्णाली प्रदेशमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूको व्यवसायिक मनोबल उच्च बनाएको छ। प्रदेश प्रहरी प्रमुख सापकोटाले प्राप्त गर्नुभएको यो प्रशंसा पत्रले सीमित स्रोत र साधनका बीच पनि उत्कृष्ट कार्यसम्पादन गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश प्रवाह गरेको छ। यसले आगामी दिनमा पनि शान्ति सुरक्षा र नागरिक सेवामा अझ बढी जिम्मेवार र कटिबद्ध भएर लाग्न सम्पूर्ण प्रहरी प्रशासनलाई हौसला प्रदान गरेको छ।