कालीकोट- राज्यलाई विश्वास गरेर बुझाइएका नागरिकका अति संवेदनशील दस्तावेजहरू कालीकोटको सदरमुकाम मान्मका सडकमा कुहिन थालेका छन्। तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकाका विभिन्न योजना र प्रशासनिक कामका सिलसिलामा स्थानीयले बुझाएका जग्गाधनी प्रमाणपूर्जा र नागरिकताका प्रतिलिपिहरू मान्मस्थित सार्वजनिक शौचालय नजिकैको सडकमा फोहोरको थुप्रोझैँ बेवारिसे फालिएका हुन्।
नागरिकको पहिचान र सम्पत्तिको नालीबेली बोकेका यी कागजपत्रहरू सडकमा छरपस्ट हुनुले स्थानीय सरकार र प्रशासनिक संयन्त्रको गैरजिम्मेवारीपनको पराकाष्ठा नाघेको छ। सर्वसाधारणको वैयक्तिक गोपनीयताको सुरक्षा गर्नुको साटो यसरी सार्वजनिक सडकमा मिल्काउनुले विधिको शासन र सुशासनको नारालाई गिज्याइरहेको छ। बाटोमा हिँड्ने जोसुकैले यी कागजातको दुरुपयोग गरी ठगी वा आपराधिक गतिविधि गर्न सक्ने गम्भीर खतरा बढेको छ।
यस जघन्य प्रशासनिक अपराधप्रति कडा आक्रोश पोख्दै स्थानीय नागरिक रेशम बहादुर शाही भन्नुहुन्छ— “नागरिकको पहिचान र सम्पत्तिको विवरण सडकमा फालिनु विधिको शासनको उपहास हो। यस्तो कार्यमा संलग्न जोसुकैलाई पनि कानून बमोजिम कडा कारबाही हुनुपर्दछ।”
संविधानले ग्यारेन्टी गरेको गोपनीयताको हक र वैयक्तिक गोपनीयता सम्बन्धी ऐन २०७५ लाई लत्याउँदै सरकारी फाइलहरू सडकमा फाल्नु अक्षम्य छ। सरकारी कागजात नष्ट गर्ने आफ्नै विधि र प्रक्रिया हुँदाहुँदै त्यसको धज्जी उडाएर जनताका निजी विवरण सडकमा पुर्याउने दोषी कर्मचारीमाथि तत्काल कानूनी डण्डा नचलाउने हो भने सरकारी कार्यालयप्रतिको जनविश्वास पूर्णतः समाप्त हुने निश्चित छ।