Loading

सुर्खेतमा प्रहरीको ‘कडा’ चेकिङ: लागुऔषध र भन्सार छलीका सामानसहित ६ सवारी कारबाहीमा

सुर्खेतमा प्रहरीको ‘कडा’ चेकिङ: लागुऔषध र भन्सार छलीका सामानसहित ६ सवारी कारबाहीमा

वीरेन्द्रनगर, २७ चैत 

कर्णाली प्रदेशको प्रवेशद्वार सुर्खेतको सुब्बाकुनामा बिहीबार गरिएको विशेष संयुक्त प्रहरी चेकिङका क्रममा लागुऔषध, अवैध भन्सार छलीका सामान बरामद हुनुका साथै सवारी नियम उल्लंघन गर्ने ६ वटा सवारी साधन कारबाहीमा परेका छन्।

उच्च अधिकारीको कमाण्डमा चेकिङ

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटा र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालसहित १७ जनाको टोलीले बिहीबार दिउँसो १५:०० देखि १८:०० बजेसम्म वीरेन्द्रनगर–११ स्थित सुब्बाकुनामा सघन चेकिङ चलाएको थियो। चेकिङ टोलीमा जिल्ला प्रहरी कार्यालय र कर्णाली प्रदेश प्रहरी अस्पतालका प्राविधिकहरूको समेत सहभागिता रहेको थियो।

लागुऔषध र अवैध सामान बरामद

सार्वजनिक सवारीका चालकहरूलाई लक्षित गरी गरिएको उक्त चेकिङका क्रममा ७ ग्राम लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने धूलो पदार्थ बरामद गरिएको छ। साथै, भन्सार कर नतिरी अवैध रूपमा ल्याइएका २५ थान सुर्तीका झोलाहरू समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

सवारी कारबाही र सचेतना

प्रहरीले नियम विपरीत क्षमताभन्दा बढी जडान गरिएका २० वटा सिटहरू सवारी साधनबाट निकालेको छ भने मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ६ वटा सवारी साधनलाई कारबाही गरेको छ। शंकास्पद देखिएका दुई जना चालकलाई लागुऔषध सेवन (लापसे) जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको प्रहरीले जनाएको छ।

सडक सुरक्षालाई मजबुत बनाउन र सवारी दुर्घटना न्यूनीकरणका लागि प्रदेशका उच्च प्रहरी अधिकारीहरू आफैँ सडकमा उत्रिएर गरिएको यो चेकिङले सवारी चालक र व्यवसायीहरूलाई थप सचेत बनाएको छ। नियन्त्रणमा लिइएका सामान र सवारी साधनमाथि थप कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार