Loading

अब काठमाडौँ धाउनु नपर्ने: आफ्नै वडाबाट कम्पनीको काम हुने

अब काठमाडौँ धाउनु नपर्ने: आफ्नै वडाबाट कम्पनीको काम हुने

कालीकोट- गाउँघरमा सानो व्यवसाय वा कम्पनी खोल्न चाहनेका लागि अब काठमाडौँको चक्कर काट्नुपर्ने बाध्यता हट्ने भएको छ। कम्पनी रजिस्ट्रारको कार्यालयले आफ्ना सेवाहरूलाई प्रविधिमैत्री बनाउँदै लगेपछि त्रिपुरेश्वरको कार्यालयमा लाइन लाग्नुपर्ने झन्झट अन्त्य हुन लागेको हो। सरकारले कम्पनी दर्तादेखि खारेजीसम्मका प्रक्रियालाई अनलाइन प्रणालीमा लगेसँगै दूरदराजका उद्यमीलाई ठुलो राहत पुग्ने देखिएको छ।

घरदैलोमै सरकारी सेवा

अहिलेसम्म कम्पनीको युजरनेम र पासवर्ड लिन होस् वा कम्पनी बन्द गर्ने बेला ‘यो मान्छे मै हुँ’ भनेर सनाखत गर्न, सम्बन्धित व्यक्ति आफैँ काठमाडौँ पुग्नुपर्थ्यो। कालीकोट जस्तो दुर्गम जिल्लाबाट एउटा सामान्य कामका लागि हजारौँ खर्च गरेर राजधानी धाउनु उद्यमीहरूका लागि निकै कष्टकर थियो। तर अब यो अवस्था बदलिँदै छ। नयाँ व्यवस्था अनुसार अब उद्यमीले आफ्नै गाउँपालिकाका प्रमुख, उपप्रमुख वा वडा अध्यक्षको अगाडि उभिएर आफ्नो पहिचान खुलाई सनाखत गर्न सक्नेछन्। स्थानीय तहबाट भएको त्यही सनाखतको कागज अनलाइनमा अपलोड गरेपछि काठमाडौँले त्यसलाई मान्यता दिनेछ।

हातहातमा डिजिटल सुविधा

कार्यालयले ‘क्यामिस’ (CAMIS) नामको नयाँ अनलाइन प्रणाली पूर्ण रूपमा सञ्चालनमा ल्याएको छ। यस अन्तर्गत अब प्रत्येक कम्पनीको आफ्नै डिजिटल खाता हुनेछ। कम्पनीसँग सम्बन्धित पत्र, कागजात र विवरणहरू अब सरकारी छाप र डिजिटल हस्ताक्षरसहित सिधै उद्यमीको अनलाइन खातामा आउनेछन्। यसले गर्दा कागजपत्र हराउने वा बिचौलियाको भर पर्नुपर्ने डर पनि समाप्त भएको छ। कम्पनी दर्तादेखि प्रशासनका सबै काम अब आफ्नै मोबाइल वा कम्प्युटरबाटै हेर्न र गर्न सकिने गरी व्यवस्था मिलाइएको छ।

कार्यान्वयनको पर्खाइ

यो नयाँ र सजिलो व्यवस्थालाई देशभरका ७५३ वटै स्थानीय तहमा लागु गर्नका लागि प्रक्रिया अगाडि बढिसकेको छ। कम्पनी रजिस्ट्रारको कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै पालिकाहरूलाई परिपत्र गरेको छ। केही विशेष कानुनी मुद्धा वा जटिल छानबिनको अवस्थामा बाहेक अन्य सबै साधारण कामका लागि अब कार्यालयमै भौतिक रूपमा उपस्थित हुनुपर्ने छैन। यसले समय र पैसा दुवैको बचत गराउने हुनाले कर्णालीका साना तथा मझौला लगानीकर्ताहरूमा नयाँ उत्साह थपिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार