Loading

कालीकोटमा स्वास्थ्य क्रान्ति: अकाल मृत्युको त्रासमा बाँचेका आमाहरूलाई ‘जीवनदान’ दिँदै जिल्ला अस्पताल

कालीकोटमा स्वास्थ्य क्रान्ति: अकाल मृत्युको त्रासमा बाँचेका आमाहरूलाई ‘जीवनदान’ दिँदै जिल्ला अस्पताल

कालीकोट- कुनै समय थियो, कर्णालीका पहाडहरूमा गर्भवती हुनुलाई ‘दोस्रो जन्म’को प्रतीक्षा मानिन्थ्यो। सुत्केरी व्यथा लागेपछि महिलाहरूले अस्पताल देख्न पाउँदैनथे; धेरैले गोठमै वा डोकोमा बोकेर अस्पताल पुर्याउँदा पुर्याउँदै बाटोमै प्राण त्याग्थे। तर, पछिल्लो समय कालीकोट जिल्लामा यो भयावह चित्र बिस्तारै बदलिँदै गएको छ।

हिजोका ती अकाल मृत्युका कथाहरूलाई चिर्दै जिल्ला अस्पताल कालीकोटले अहिले जटिलभन्दा जटिल अवस्थाका गर्भवतीहरूको सफल उपचार गरेर नयाँ आशा जगाएको छ।

यसको पछिल्लो कडी बनेकी छिन्, कालीकोटकै नरहरिनाथ गाउँपालिका–९ की २३ वर्षीया जुनिता दर्जी। सुत्केरी व्यथाले च्यापेपछि स्वास्थ्य चौकी पुर्याइएकी जुनिताको अवस्था जटिल देखिएपछि उनलाई जिल्ला अस्पताल रिफर गरिएको थियो।

शल्यक्रियामा संलग्न डा. दर्शनराज पाण्डेका अनुसार, जुनिताको गर्भमा रहेको बच्चा उल्टो (बृच) अवस्थामा थियो। “यस्तो अवस्थामा सामान्य प्रसूति सम्भव थिएन, आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्न सक्थ्यो,” डा. पाण्डेले भने। चिकित्सकहरूको टोलीले सफलतापूर्वक शल्यक्रिया गरेपछि अहिले आमा र नवजात शिशु दुवैको स्वास्थ्य सामान्य छ।

जिल्ला अस्पताल कालीकोटका अनुसार पछिल्ला चार दिनमा मात्रै चारवटा महत्त्वपूर्ण शल्यक्रिया (CS) मार्फत बच्चा जन्माइएको छ। यो तथ्याङ्कले जिल्लामै स्वास्थ्य सेवाको विस्तार र विशेषज्ञ जनशक्तिको सक्रियतालाई प्रस्ट पार्छ। अस्पतालका कार्यालय प्रमुख डा. रत्नविर सुनार भन्छन्, “पहिले उपचार अभावमा धेरै गर्भवतीले अकालमै ज्यान गुमाउनु पर्थ्यो, तर अहिले सेवा विस्तारसँगै स्थितिमा उल्लेख्य सुधार आएको छ।”

स्वास्थ्य सेवामा सुधार आए पनि पूर्वाधार र स्रोतको अभाव अझै पनि एउटा ठुलो तगारो बनेको छ। कालीकोट अस्पतालमा अझै पनि आफ्नै ‘ब्लड बैंक’ छैन। जुनिताको शल्यक्रिया गर्दा पनि रगतको जोहो गर्न चिकित्सकहरूलाई निकै हम्मे-हम्मे परेको थियो।

“रगत अभावका कारण शल्यक्रियामा कठिनाइ हुने गरेको छ,” डा. पाण्डेले बाध्यता सुनाए, “अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पोस्टिङमा आएका विद्यार्थीहरूलाई रगत दिन तयार राखेर मात्र हामीले शल्यक्रिया गर्नुपरेको अवस्था छ।” यो एउटा यस्तो जोखिमपूर्ण वास्तविकता हो, जहाँ चिकित्सकहरूले प्राविधिक सुविधाभन्दा बढी साहसको भरमा ज्यान जोगाइरहेका छन्।

पहिलेको तुलनामा अहिले गर्भवती अवस्थामा हुने जटिल समस्याहरूको उपचार सहज भएको छ। तर, कालीकोट जस्ता दुर्गम जिल्लाहरूमा ‘ब्लड बैंक’ जस्ता आधारभूत सुविधा नहुँदा अझै पनि जोखिम पूर्ण रूपमा टरेको छैन।

यद्यपि, जुनिता जस्ता कैयौँ आमाहरूले जिल्लामै पाएको यो सफल उपचारले कालीकोटको स्वास्थ्य क्षेत्रमा एउटा सकारात्मक क्रान्तिको संकेत गरेको छ। राज्यले अब जनशक्तिसँगै आवश्यक भौतिक पूर्वाधार र रगत व्यवस्थापनमा ध्यान दिने हो भने, कर्णालीका कुनै पनि आमाले अब सन्तान जन्माउँदा अकालमै ज्यान गुमाउनु पर्ने छैन।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार