Loading

सरकारी सेवामा ‘डिजिटल फड्को’: अब राहदानी र लाइसेन्स हुलाकमार्फत घरदैलोमै पुग्ने

सरकारी सेवामा ‘डिजिटल फड्को’: अब राहदानी र लाइसेन्स हुलाकमार्फत घरदैलोमै पुग्ने

कालीकाेट- सरकारले आम नागरिकले सरकारी सेवा लिन भोग्नुपर्ने झन्झटिलो र सास्तीपूर्ण अवस्थालाई अन्त्य गर्दै ‘नतिजामा आधारित शासन व्यवस्था’ लागू गर्ने ऐतिहासिक निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नागरिकको दैनिक जीवनसँग जोडिएका सेवाहरूलाई प्रविधिमैत्री र छरितो बनाउन नयाँ सुधारका योजनाहरू अघि सारेको हो।

अबका दिनमा राहदानी, सवारी चालक अनुमति पत्र, शैक्षिक प्रमाणपत्र र नेपाल टेलिकमका सिमकार्ड लिनका लागि सरकारी कार्यालयको ढोका ढकढक्याउनु पर्ने वा लाइन बस्नुपर्ने बाध्यता हट्ने देखिएको छ। सरकारले हुलाक सेवालाई ‘सरकारी कुरियर’ का रूपमा विकास गरी आगामी २०८३ साल वैशाख मसान्तसम्म देशका ७७ वटै जिल्लाका वितरण केन्द्रसम्म यी महत्त्वपूर्ण कागजातहरू पुर्‍याउने व्यवस्था गर्ने भएको छ। यसले दूरदराजका नागरिकलाई आफ्ना कागजात लिन सदरमुकाम वा राजधानी धाउनुपर्ने आर्थिक र समयको बोझबाट मुक्त गर्नेछ।

लामो समयदेखि चर्चामा रहेको सवारी चालक अनुमति पत्रको समस्यालाई पनि सरकारले सम्बोधन गरेको छ। अब नयाँ आवेदन दिनेहरूका लागि यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको २४ घण्टाभित्रै अत्याधुनिक मेसिनबाट लाइसेन्स छपाइ गरी वितरणका लागि पठाइनेछ। त्यति मात्र होइन, हाल छपाइ हुन बाँकी रहेका करिब २९ लाख अनुमति पत्रहरूलाई समेत आगामी असार मसान्तभित्रै छापेर सक्ने लक्ष्य राखिएको छ।

यसैगरी, सञ्चार क्षेत्रमा पनि ठूलो सुधारको योजना ल्याइएको छ। नेपाल टेलिकमका ग्राहकले अब एकपटक दिएको आफ्नो व्यक्तिगत विवरण (केवाइसी) पटक-पटक बुझाउनुपर्ने छैन। ३० दिनभित्र ‘एकपटक केवाइसी’ प्रणाली लागू गरी सिमकार्ड हराउँदा वा नामसारी गर्दा अनलाइनबाटै सेवा लिन सकिने व्यवस्था मिलाइनेछ। मोबाइल प्रयोगकर्ताहरूका लागि ४जी सेवाको गुणस्तर सुधार गर्न थप फ्रिक्वेन्सी उपलब्ध गराउने र मोबाइल डेटा प्रयोग गर्दा लाग्ने खर्चलाई अझै सुलभ बनाउन ‘सब्स्क्रिप्सन’ मोडेल लागू गर्ने तयारी समेत भएको छ।

नागरिकहरूलाई प्रविधिसँग जोड्नका लागि ‘नागरिक एप’ लाई थप प्रभावकारी बनाइनेछ भने सरकारी वेबसाइटहरूलाई अपाङ्गता भएका व्यक्तिहरूले पनि सजिलै चलाउन सक्ने गरी परिमार्जन गरिनेछ। बढ्दो साइबर सुरक्षाको चुनौतीलाई मध्यनजर गर्दै सरकारले आगामी ९० दिनभित्र डाटा संरक्षण र कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी आवश्यक कानुन र नीतिहरू तर्जुमा गर्ने प्रतिबद्धता जनाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यी सबै कार्यक्रमहरूलाई तोकिएको समयमै कार्यान्वयन गरी नागरिकलाई सुशासनको प्रत्यक्ष अनुभूति गराउने अठोट लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार