कालीकाेट- निर्वाचन आयोगले स्थगित भएको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम आज (आइतबार) देखि पुनः सुचारु गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का सन्दर्भमा गत मङ्सिर ६ गतेदेखि रोकिएको यो प्रक्रिया चैत २२ गतेदेखि सुचारु गर्ने आयोगको निर्णय बमोजिम आजबाट काम अघि बढेको हो।
अनलाइनबाटै नाम दर्ता गर्न सकिने
आयोगका अनुसार राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो विवरणमार्फत अनलाइन प्रणालीबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन्। तर, राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएका नागरिकहरूले भने आयोगको ‘प्रि-एनरोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फाराम भरी फोटो र औँठा छापसहितको जैविक (Biometric) विवरण दिन प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा स्वयं उपस्थित हुनुपर्नेछ।
त्रुटि सच्याउन र नामावली सार्न पाइने
दर्ता मात्र नभई मतदाता नामावलीमा रहेका विभिन्न त्रुटिहरू सच्याउन पनि पाइने आयोगले जनाएको छ। जसमा:
नाम, थर र ठेगाना सच्याउन सकिने।
एकै वडाभित्र दुई वा सोभन्दा बढी मतदान स्थल भए पायक पर्ने स्थानमा नाम सार्न सकिने।
दोहोरो नाम हटाउन, मृत्यु भएकाको नाम हटाउन वा बसाइँसराइको विवरण अद्यावधिक गर्न सकिने।
यी सबै कामका लागि अनलाइन माध्यमबाट आवेदन दिन सकिने व्यवस्था मिलाइएको आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ।