कालीकाेट- कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) की पूर्व उपाध्यक्ष तथा सूचना प्रविधि क्षेत्रकी प्रखर नेतृत्वकर्ता सृजना श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनुभएको छ।
श्रेष्ठको विजयसँगै क्यान महासंघ परिवारले एक कार्यक्रम गर्दै हर्षोल्लासका साथ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। महासंघका अध्यक्ष श्री सुनैना घिमिरे पाण्डेले श्रेष्ठको संसदमा उपस्थितिले नेपालको सूचना प्रविधि क्षेत्रमा नयाँ इँटा थप्ने विश्वास व्यक्त गर्नुभयो।

बधाई सन्देशमा भनिएको छ, “तपाईंको संसदमा उपस्थितिले डिजिटल नेपालको अभियानलाई थप उचाइमा पुर्याउने, प्रविधिमैत्री नीति निर्माणमा उल्लेख्य योगदान पुग्ने र सुशासन एवं पारदर्शिता प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्नेछ भन्नेमा हामी पूर्ण रूपमा विश्वस्त छौं।”
लामो समयदेखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा सक्रिय रहनुभएकी श्रेष्ठले अब नीति निर्माण तहमा पुगेर यो क्षेत्रका चुनौतीहरूलाई सम्बोधन गर्ने र मुलुकलाई डिजिटल रूपान्तरणको दिशामा अघि बढाउने अपेक्षा गरिएको छ। महासंघले उहाँको आगामी कार्यकालको पूर्ण सफलताको कामना समेत गरेको छ।