कालीकोट- विश्व खाद्य कार्यक्रम (WFP) नेपालको एक उच्चस्तरीय भ्रमण टोलीले कालीकोट जिल्लास्थित स्वास्थ्य सेवा कार्यालयको स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ। टोलीमा नेपालका लागि विश्व खाद्य कार्यक्रमका प्रतिनिधि तथा राष्ट्रिय निर्देशक रियाज लोधी, सामाजिक सुरक्षा प्रमुख नाथानियल ग्लिडन, पश्चिम नेपाल क्षेत्रका क्षेत्रीय प्रमुख विमला सुवेदी र सञ्चार अधिकृत श्रवण श्रेष्ठ लगायतका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।
भ्रमणका क्रममा ‘पोषणका पहलहरूमा केन्द्रित रही विश्व खाद्य कार्यक्रमका प्रतिनिधिहरूसँगको अन्तरक्रिया’ विषयक विशेष कार्यक्रमको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा कालीकोट जिल्लामा विश्व खाद्य कार्यक्रमको सहयोगमा सञ्चालन भइरहेका विभिन्न पोषण कार्यक्रमहरूको प्रभावकारिता र अवस्थाबारे विस्तृत प्रस्तुतीकरण गरिएको थियो।

अन्तरक्रियाका क्रममा जिल्लाका सरोकारवाला निकाय, महिला स्वास्थ्य स्वयंसेविका तथा आमा समूहका सदस्यहरूसँग पोषण कार्यक्रमका उपलब्धि र आगामी चुनौतीबारे छलफल गरिएको थियो। स्वास्थ्य सेवा कार्यालय कालीकोटले विश्व खाद्य कार्यक्रमबाट प्राप्त हुँदै आएको प्राविधिक तथा भौतिक सहयोगका लागि आभार प्रकट गर्दै आगामी दिनमा पनि यो सहयोगलाई थप विस्तार र निरन्तरता दिने अपेक्षा राखेको छ।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले पोषणको अवस्था सुधार गर्न स्थानीय स्तरमा भएका प्रयासहरूको प्रशंसा गर्दै दातृ निकायको सहयोगले दुर्गम क्षेत्रका महिला र बालबालिकाहरूको स्वास्थ्यमा सकारात्मक परिवर्तन आएको बताएका थिए। स्वास्थ्य सेवा कार्यालय कालीकोटले यो उच्चस्तरीय भ्रमणले जिल्लाको स्वास्थ्य र पोषणको क्षेत्रमा नयाँ उर्जा थपेको भन्दै भ्रमण टोलीलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ।