कालीकोट-कालीकोटको खाँडाचक्र नगरपालिकाले कर्मचारी भर्ना प्रक्रियामा देखाएको अस्थिरताले स्थानीय सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न खडा गरिदिएको छ। झण्डै चार महिनाअघि तामझामका साथ स्वास्थ्य सेवातर्फका विभिन्न पदमा विज्ञापन खुलाएको नगरपालिकाले परीक्षाको मुखैमा आएर पद संख्या कटौती र केही पदको विज्ञापन नै स्थगित गरेपछि परीक्षार्थीहरू आक्रोशित बनेका छन्।

विज्ञापन ६ जनाको, परीक्षा २ जनाको मात्रै: के यो ‘सेटिङ’ हो ? गत मङ्सिर ९ गते नगरपालिकाले विज्ञापन नं. ३ अन्तर्गत ६ जना ‘अनमी’ (ANM) पदका लागि दरखास्त आह्वान गरेको थियो। सयौँ परीक्षार्थीले फारम भरेर तयारी गरिरहेको अवस्थामा चैत्र १६ गते आएर नगरपालिकाले एक्कासी ४ वटा सिट कटौती गर्दै २ जनाको मात्रै परीक्षा लिने सूचना सार्वजनिक गरेको छ।
प्रश्न उठ्छ— विज्ञापन गर्दा कुन आधारमा ६ जना माग गरिएको थियो? र अहिले कुन कानुनमा टेकेर ४ जनाको भविष्यमाथि खेलबाड गरियो? के यो आफ्ना निकटका मान्छेलाई मात्र छिराउने ‘सेटिङ’ को पूर्वाभ्यास त होइन? स्थानीयले यसलाई ‘स्वार्थ प्रेरित निर्णय’ को संज्ञा दिएका छन्।
ल्याब र वैद्यको परीक्षा स्थगित: परीक्षार्थीको श्रम र लगानीमाथि ठट्टा त्यति मात्र होइन, विज्ञापन नं. ५ (ल्याब असिस्टेन्ट) र विज्ञापन नं. ६ (वैद्य) को परीक्षा त हाललाई स्थगित नै गरिएको छ। यसअघि कृषि विकास अधिकृतको परीक्षामा पनि सबै परीक्षार्थी केन्द्र पुगेपछि अन्तिम समयमा परीक्षा रोकेर नगरपालिकाले व्यापक आलोचना खेपेको थियो। पछि पुनः परीक्षा गराएर जनप्रतिनिधिले चाहेका व्यक्तिलाई भर्ती गरिएको आरोप खेपिरहेको नगरपालिकाले स्वास्थ्य सेवामा पनि त्यस्तै प्रवृत्ति दोहोर्याउन खोजेको देखिन्छ।

प्रशासनको गैरजिम्मेवारीको पराकाष्ठा टाढा-टाढाबाट दुःख गरेर, खर्च खर्चेर परीक्षा दिन आएका युवाहरूको समय र लगानीको मूल्य कसले तिर्ने ? निमित्त प्रमुख प्रशासकीय अधिकृत जसी प्रसाद चौलागाईंद्वारा जारी सूचनामा पद कटौती र स्थगनको ठोस कारण खुलाइएको छैन। विज्ञापन गर्दा दरबन्दीको ख्याल नगर्ने र परीक्षाको बेला आएर निर्णय बदल्नुले नगरपालिकाको प्रशासनिक क्षमता र नियत दुवैमाथि शंका उब्जाएको छ।
स्थानीय सरोकारवालाहरूले यस प्रक्रियाको निष्पक्ष छानबिन हुनुपर्ने र विज्ञापन अनुसारकै पदमा स्वच्छ प्रतिस्पर्धा गराउनुपर्ने माग गरेका छन्। अन्यथा, नगरपालिकाको यो कदम विरुद्ध परीक्षार्थीहरूले कानुनी उपचार खोज्ने चेतावनी समेत दिएका छन्।