Loading

कालीकोटमा SEE को तयारी पूरा: २० परीक्षा केन्द्रमा ३ हजार ७ सय १० विद्यार्थी सहभागी हुँदै

कालीकोटमा SEE को तयारी पूरा: २० परीक्षा केन्द्रमा ३ हजार ७ सय १० विद्यार्थी सहभागी हुँदै

कालीकोट-यही चैत्र १९ गते बिहीबारदेखि देशभर सुरु हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) का लागि कालीकोट जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ। परीक्षालाई व्यवस्थित बनाउन आज जिल्लामा केन्द्राध्यक्षहरूको अभिमुखिकरण तथा नियुक्ति दिने कार्यक्रम सम्पन्न भएको छ।

शिक्षा विकास तथा समन्वय इकाई कालीकोटका प्रमुख हर्षप्रसाद चौलागाईंले नियुक्त भएका केन्द्राध्यक्षहरूलाई यस वर्षको SEE परीक्षा स्वच्छ, निष्पक्ष, भयरहित र मर्यादित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै सहभागी सबै परीक्षार्थी र कर्मचारीहरूमा शुभकामना समेत व्यक्त गर्नुभएको छ।

यस वर्ष कालीकोट जिल्लाभरिबाट नियमित र ग्रेडवृद्धि तर्फ गरी कुल ३ हजार ७ सय १० जना विद्यार्थीहरू परीक्षामा सहभागी हुँदैछन्। परीक्षा सञ्चालनका लागि जिल्लाका विभिन्न स्थानमा २० वटा परीक्षा केन्द्रहरू तोकिएको छ। ती केन्द्रहरूमा आवश्यक सुरक्षा व्यवस्था र जनशक्तिको परिचालन समेत भइसकेको प्रमुख जिल्ला अधिकारी गाेकण राज सुयलले बताउनु भयाे।

यसैबीच, जल तथा मौसम विज्ञान विभागले आगामी केही दिन पहाडी तथा हिमाली भू-भागमा मेघगर्जन र हल्का वर्षाको सम्भावना रहेको जनाएकाले परीक्षार्थीहरूलाई मौसमको अवस्था हेरेर समयमै परीक्षा केन्द्रमा पुग्न र आवश्यक सतर्कता अपनाउन समेत सुझाव दिइएको छ। विशेषगरी कर्णाली प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको प्रक्षेपण गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार