Loading

कालीकोटको रास्कोट ‘डिजिटल’ बन्ने: कर्णाली प्रदेश सरकारले दियो ४९ लाख बजेट

कालीकोटको रास्कोट ‘डिजिटल’ बन्ने: कर्णाली प्रदेश सरकारले दियो ४९ लाख बजेट

कालीकोट-कालीकोटको रास्कोट नगरपालिकालाई ‘डिजिटल पालिका’ बनाउन कर्णाली प्रदेश सरकारले विशेष तत्परता देखाएको छ। प्रदेश सरकारको ‘नवप्रवर्तन साझेदारी कोष’ (Innovation Partnership Fund) कार्यक्रम अन्तर्गत रास्कोटमा डिजिटल पालिका कार्यक्रम सञ्चालन गर्न ४९ लाख रुपैयाँ बजेटसहित कार्यान्वयनको अख्तियारी दिइएको छ।

आइतबार बिहान बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले रास्कोटसहित प्रदेशका सात स्थानीय तहलाई कुल ३ करोड ४० लाख रुपैयाँ बराबरको परियोजना कार्यान्वयन गर्न अनुमति दिने निर्णय गरेको हो। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवं सरकारका प्रवक्ता विनोदकुमार शाहका अनुसार यो निर्णयसँगै अब रास्कोटमा डिजिटल सेवा विस्तारको बाटो खुलेको छ।

रास्कोटमा के हुनेछ ? सरकारले विनियोजन गरेको ४९ लाख रुपैयाँबाट रास्कोट नगरपालिकाले आफ्नो सेवा प्रवाहलाई पूर्ण रूपमा प्रविधिमैत्री र डिजिटल बनाउने परियोजना सञ्चालन गर्नेछ। यस कार्यक्रमले पालिकाका सूचना, तथ्याङ्क र सेवाहरूलाई अनलाइन प्रणालीमा आबद्ध गरी नागरिकलाई छिटो र छरितो सेवा प्रदान गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ। दुर्गम मानिने कालीकोटको रास्कोटलाई आधुनिक प्रविधिसँग जोड्न यो कार्यक्रम कोसेढुङ्गा सावित हुने नगर प्रमुख धर्मराज शाहीले बताउनु भयाे ।

अन्य पालिकामा पनि विभिन्न कार्यक्रम रास्कोटसँगै कर्णालीका अन्य ६ पालिकाले पनि फरक-फरक विधामा बजेट प्राप्त गरेका छन्। जसमा मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा सामुदायिक अस्पताल सुदृढीकरणका लागि ५७ लाख, रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा डिजिटल कक्षाकोठाका लागि ५४ लाख ६० हजार र दैलेखको नारायण नगरपालिकामा उद्यम प्रवर्द्धनका लागि ५४ लाख ५१ हजार ९ सय रुपैयाँ विनियोजन गरिएको छ।

त्यसैगरी, सानीभेरी नगरपालिका (रुकुम पश्चिम), शारदा नगरपालिका (सल्यान) र नलगाड नगरपालिका (जाजरकोट) ले पनि डिजिटल सेवा प्रवाह र एकीकृत प्रणालीका लागि बजेट पाएका छन्।

कर्णाली प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, उद्यम विकास र डिजिटल सेवा विस्तारलाई मुख्य प्राथमिकतामा राखेर यी परियोजनाहरू अघि सारेको हो। रास्कोट नगरपालिकाले यो बजेटको सही सदुपयोग गरी ‘डिजिटल पालिका’ को अवधारणालाई सफल बनाएमा कालीकोटका अन्य स्थानीय तहका लागि पनि यो एउटा अनुकरणीय नमुना बन्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार