Loading

समानुपातिकमा कालीबहादुर सहकारी र यशोदा कुमारी बराल चयन

समानुपातिकमा कालीबहादुर सहकारी र यशोदा कुमारी बराल चयन

कालीकाेट- प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फ प्रमुख दलहरूले उम्मेदवार छनोट प्रक्रिया सक्काएका छन्। यस क्रममा कालीकोटका दुई नेताले अवसर पाएका छन्।

नेपाली कांग्रेसले खसआर्य पुरुष कोटाबाट कालीकोटका नेता कालीबहादुर सहकारीलाई समानुपातिक उम्मेदवारको रूपमा छनोट गरेको छ। कालीकोट जिल्लाको रुप्सा गाउँमा जन्मिएका सहकारी नेपाली कांग्रेस कालीकोटका पूर्व पार्टी सभापति हुन् भने हाल कर्णाली प्रदेश उपसभापतिको जिम्मेवारीमा रहेका छन्।

स्थायी जागिर छोडेर लोकतान्त्रिक राजनीति र जनसेवामा होमिएका सहकारी लामो समयदेखि पार्टी संगठन निर्माणमा सक्रिय रहँदै आएका छन्। सरल जीवनशैली, निष्ठा र इमान्दारिताका कारण उनी कार्यकर्तामाझ सम्मानित मानिन्छन्। पार्टीभित्र वर्षौँसम्म योगदान दिए पनि अवसर ढिलो पाएको चर्चा भइरहेका बेला समानुपातिकतर्फको यो छनोटलाई उनको राजनीतिक यात्रा र त्यागको मूल्यांकनका रूपमा पनि हेरिएको छ।

पार्टीभित्र कार्यकर्ताको योगदानलाई मूल्यांकन गर्ने नयाँ अभ्यास बढ्दै गएको सन्दर्भमा सहकारीको छनोटले इमान्दार र संगठनमा काम गर्ने कार्यकर्तालाई अवसर मिल्ने सन्देश दिएको नेताहरूको भनाइ छ।

यस्तै, नेकपा एमालेबाट समानुपातिकतर्फ पिछडिएको क्षेत्र महिला कोटामा यशोदा कुमारी बराल पनि छनोटमा परेकी छन्। एमालेले सामाजिक समावेशिता र प्रतिनिधित्वको सन्तुलन कायम गर्ने उद्देश्यसहित बराललाई समानुपातिक सूचीमा समावेश गरेको जनाएको छ।

यसरी प्रमुख दुई दलबाट कालीकोटसँग सम्बन्धित नेताहरू समानुपातिक सूचीमा समेटिनुले कर्णाली प्रदेश तथा पिछडिएका क्षेत्रका आवाज संघीय संसदमा उठ्ने अपेक्षा गरिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार यस्तो प्रतिनिधित्वले क्षेत्रीय मुद्दा र विकासका सवाललाई राष्ट्रिय बहसमा ल्याउन सहयोग पुग्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

ताजा समाचार