कालीकाेट-एक व्यक्तिलाई अपहरण गरेर बन्धक बनाएको आरोपमा प्रहरी चार जनालाइ पक्राउ गरेकाे छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार टेकुको एक होटलमा बन्धक बनाई कुटपिट गरिएका पूर्णबहादुर बोहरालाई उद्धार गरेको हो ।
अपहरणमा संलग्न भएको आरोपमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ का २६ वर्षीय फपेन्द्र न्यौपाने, जुम्लाको तिला गाउँपालिका–८ का ३६ वर्षीय धनराज बस्नेत, कास्कीको माछापुच्छे गाउँपालिका–७ का ४२ वर्षीय शिवबहादुर घर्ती, र जुम्लाका देवेन्द्र अधिकारी छन् ।
बोहरालाई सुर्खेतदेखि काठमाडौं ल्याएर अपहरण गरेको खुलेको छ । १५ लाख सापटी लिएको रकमको १ करोड ५ लाख माग्दा नपाएपछि अपहरण गरी बन्धक बनाएको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये घर्ती होटल सञ्चालक हुन्, न्यौपाने टेकु अस्पतालका एचए र बाँकी दुई जना कृषि पेशामा आबद्ध भएका व्यक्ति हुन् । उनीहरूबाट प्रहरीले तीन थान मोबाइल, रुद्राक्ष, चेक बरामद गरेको छ ।