Loading

बाढीपहिरोमा बेपत्ता २ हजार ४ सय बढीको सूची सार्वजनिक : जीवितै भए ७ दिनभित्र दाबी गर्न प्राधिकरणको आग्रह

बाढीपहिरोमा बेपत्ता २ हजार ४ सय बढीको सूची सार्वजनिक : जीवितै भए ७ दिनभित्र दाबी गर्न प्राधिकरणको आग्रह

काठमाडौँ २१ कार्तिक। विभिन्न समयमा भएका प्राकृतिक विपद्‌मा परी बेपत्ता भएका नागरिकहरूको विवरण यकिन गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २ हजार ४ सय ६५ जनाको नामावली सार्वजनिक गरेको छ। विपद्‌सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ बमोजिम प्राधिकरणले स्वदेशी र विदेशी गरी बेपत्ताको सूची सार्वजनिक गर्दै उनीहरू जीवितै रहेको वा फेला परेको भए ७ दिनभित्र दाबी पेस गर्न परिवारजनमा अनुरोध गरेको हो।

प्राधिकरणका अनुसार देशका ३२ जिल्ला विपद् व्यवस्थापन समितिबाट प्रमाणित भई आएका कुल २ हजार २ सय ९४ जना नेपाली नागरिक बेपत्ताको सूचीमा छन्। जसमा सबैभन्दा बढी रसुवाका १ हजार ५ सय ३८ जना र सिन्धुपाल्चोकका २ सय १९ जना रहेका छन्। कर्णाली प्रदेशका जुम्लाबाट ६३, कालीकोटबाट ६, जाजरकोटबाट २ र रुकुम पूर्वबाट ४ जनाको नाम बेपत्ताको सूचीमा समावेश गरिएको छ। यसका साथै नेपालस्थित विभिन्न ७ देशका दूतावास तथा नियोगहरूबाट यकिन भई आएका १७१ जना विदेशी नागरिकको विवरणसमेत सार्वजनिक गरिएको छ, जसमा मलेसिया र युक्रेनका ५४–५४ जना तथा अस्ट्रेलियाका ३३ जना नागरिक समेटिएका छन्।

सार्वजनिक गरिएको सूचीमा नाम समावेश भएका व्यक्ति जीवितै रहेको, फेला परेको वा विवरणमा कुनै त्रुटि भएमा एकाघरका परिवारले ७ दिनभित्र स्थानीय तहको सिफारिससहित प्राधिकरणको इमेल ठेगाना (ndrrma@gmail.com) वा तोकिएका मोबाइल नम्बरहरू (९८५१३२०२६९ र ९८४१२८१०९७) मा दाबी पेस गर्न सक्नेछन्। विदेशी नागरिकको हकमा भने परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागमार्फत विवरण बुझ्न र संशोधन गर्न सकिने प्राधिकरणले जनाएको छ। विस्तृत नामावली प्राधिकरणको आधिकारिक वेबसाइट वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत हेर्न सकिने व्यवस्था मिलाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार