काठमाडौँ, २० कार्तिक । अनलाइन ठगी र साइबर अपराधबाट नागरिकको पसिनाको कमाइ लुट्ने अपराधीहरूलाई तत्काल नियन्त्रण गर्न नेपाल प्रहरीले चौबीसै घण्टा सक्रिय रहने विशेष संयन्त्र सञ्चालनमा ल्याएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज कुमार के.सी.को प्रमुख आतिथ्यमा शुक्रबार ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ (IACSC) ले औपचारिक रूपमा सेवा प्रारम्भ गरेको हो।
नेपाल सरकार (मन्त्रीस्तर) को गत असोज २३ गतेको निर्णयबाट स्वीकृत “एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना र कार्यसञ्चालन सम्बन्धी दिग्दर्शन, २०८३” बमोजिम यो केन्द्र स्थापना गरिएको हो। साइबर ठगीका घटना हुनासाथ तत्काल प्रतिकार्य गर्नका लागि नियामक निकाय, नेपाल प्रहरी, बैंक तथा वित्तीय संस्था, डिजिटल वालेट, दूरसञ्चार कम्पनी र इन्टरनेट सेवा प्रदायक (आईएसपी) का प्रतिनिधिहरू एउटै भौतिक कक्षमा बसेर एकीकृत रूपमा काम सुरु गरेका छन्। डिजिटल वित्तीय प्रणालीलाई सुरक्षित र भरपर्दो बनाउँदै ठगीको रकम अर्को खातामा पुगेर झिकिनुअगावै रोक्ने यस केन्द्रको मुख्य लक्ष्य रहेको छ।
साइबर ठगीमा परेका पीडित नागरिकहरूको उजुरी तथा सूचना तत्काल ग्रहण गर्नका लागि केन्द्रले २४ सै घण्टा खुला रहने गरी आकस्मिक फोन नम्बर ‘१२४७’ सञ्चालनमा ल्याएको छ। नागरिकले आफू ठगिएको थाहा पाउनासाथ १२४७ मा फोन गरेर उजुरी दर्ता गराउन सक्नेछन्। तोकिएका सम्पर्क अधिकृतहरूमार्फत सूचना पाउनेबित्तिकै ठगको बैंक खाता, डिजिटल वालेट रोक्का गर्ने तथा प्रयोग भएका सिमकार्ड र नक्कली वेबसाइट तत्काल निष्क्रिय पार्ने काम सुरु हुनेछ।