कालीकोट,२० कार्तिक । कर्मचारी मिलन केन्द्र कालीकोटको आयोजनामा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरूको स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न भएको छ। जिल्लामा लामो समय सेवा प्रवाह गरी सरुवा भएर जान लाग्नुभएका तथा नयाँ जिम्मेवारी सम्हाल्न जिल्ला भित्रिनुभएका कार्यालय प्रमुखहरूलाई एकैसाथ स्वागत र बिदाइ गरिएको हो।
लामो समय कालीकोटमा बसेर शैक्षिक सुधार तथा समन्वयमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका शिक्षा विकास तथा समन्वय इकाई कालीकोटका प्रमुख हर्षप्रसाद चौलागाईंको अछाम सरुवा भएपछि उहाँको योगदानको कदर गर्दै बिदाइ गरिएको छ। त्यसैगरी जिल्लामा भर्खरै सरुवा भएर जिम्मेवारी सम्हाल्न आइपुग्नुभएका जिल्ला निर्वाचन अधिकारी कमलप्रसाद उपाध्याय र भूमि प्रशासन कार्यालय कालीकोटका कार्यालय प्रमुख दिनेश विष्टलाई खादा–माला लगाएर भव्य स्वागतसहित सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
कार्यक्रममा सहभागी कर्मचारीहरूले जिल्लाको प्रशासनिक कार्यसम्पादन, नागरिक सेवा प्रवाह र सुशासन कायम गर्न नयाँ आउने प्रमुखहरूलाई सहकार्यको प्रतिबद्धता जनाउँदै जाने प्रमुखको अनुभव र योगदानको स्मरण गरेका थिए।