कालीकोट, २० कार्तिक । नेपालीहरूको महान् चाडपर्व शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय कालीकोटले शान्ति सुरक्षा, सामाजिक सद्भाव र जनजीवनलाई मर्यादित बनाउन कडा निर्देशन जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईद्वारा हस्ताक्षरित सूचनामार्फत चाडपर्वका नाममा कानुनविपरीतका गतिविधि गर्ने जोकोहीमाथि प्रचलित कानुनबमोजिम कडा कारबाही हुने स्पष्ट चेतावनी दिइएको छ।
प्रशासनले तिहारको परम्परागत देउसी–भैलो कार्यक्रम राति १० बजेसम्म मात्र सञ्चालन गर्न पाउने समयसीमा तोकेको छ। त्यसैगरी अनुमतिप्राप्त व्यवसायीले मात्र बेलुकी ९ बजेसम्म मदिराजन्य पदार्थ बिक्री वितरण गर्न पाउने र मेला, जात्रा तथा महोत्सवहरू स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयको पूर्वस्वीकृति लिएर बिहान ९ देखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिएको छ। चाडपर्वको बहानामा पटका, आतिसबाजी, भुइँचम्पाजस्ता विष्फोटक पदार्थको उत्पादन, आयात, ओसारपसार, बिक्री तथा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ। साथै जुवातास, कौडा, सट्टेबाजी, अनलाइन ठगी तथा कालोबजारी, अस्वाभाविक मूल्यवृद्धि, म्याद नाघेका अखाद्य वस्तु बिक्री र कृत्रिम अभाव सिर्जना नगर्न कडा निर्देशन गरिएको छ।
सवारी साधनको हकमा यात्रु क्षमताभन्दा बढी चढाउने, बढी भाडा असुल्ने, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने तथा सडक अवरोध गरी पार्किङ गर्ने कार्य गरेमा तत्काल कारबाही गरिने प्रशासनले जनाएको छ। कुनै अवाञ्छित गतिविधि, अपराध वा घटना भएमा तुरुन्त खबर गर्न जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय कालीकोट (१०० वा ९८५८३३५५५५) लगायतका सुरक्षा निकायका आकस्मिक नम्बरहरू सार्वजनिक गर्दै सुरक्षित र सभ्य रूपमा चाडपर्व मनाउन जिल्लावासी सबैमा अपिल गरिएको छ।
