काठमाडौँ २० कार्तिक । मुलुकका सबै ७७ वटै जिल्लामा सञ्जाल विस्तार गरिसकेको देशकै ठूलो वाणिज्य बैंक ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा आफ्नै अत्याधुनिक १२ तले कर्पोरेट भवन निर्माण प्रक्रिया अघि बढाएको छ। बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले आज आयोजित एक विशेष समारोहबीच नयाँ भवन निर्माणका लागि विधिवत् रूपमा भूमिपूजा सम्पन्न गर्नुभएको हो।
करिब १ लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा फैलिने यो आधुनिक संरचना वातावरणीय दिगोपन र नवीनतम इन्जिनियरिङ प्रविधिलाई प्राथमिकता दिएर निर्माण गरिन लागेको बैंकले जनाएको छ। जमिनको स्थिरता तथा आसपासका संरचनाको सुरक्षालाई ध्यानमा राखी ‘सेक्यान्ट पाइलिङ’ (Secant Piling) प्रविधि अपनाइएको छ भने वर्षाको पानी पुनःप्रयोग (रेन वाटर हार्भेस्टिङ) र सौर्य ऊर्जा प्रणालीमार्फत भवनलाई पूर्ण रूपमा पर्यावरणमैत्री र ऊर्जा–दक्ष बनाइनेछ। यसका साथै सेवाग्राही र कर्मचारीको सहजताका लागि भवनमा दुई तहको फराकिलो भूमिगत पार्किङको समेत व्यवस्था रहनेछ।
भूमिपूजा सम्पन्न गर्दै अध्यक्ष ढकालले यो पूर्वाधार केवल प्रशासनिक भवन मात्र नभई बैंकको संस्थागत स्थायित्व, ग्राहकप्रतिको उत्तरदायित्व र समृद्ध भविष्यको प्रतीक भएको बताउनुभयो। यो नयाँ भौतिक संरचनाले बैंकका वित्तीय सेवाहरूलाई थप छरितो, सुरक्षित र प्रविधिमैत्री बनाउँदै मुलुकको समग्र आर्थिक विकासमा थप टेवा पुर्याउने विश्वास व्यक्त गरिएको छ।