कालीकोट, १९ कार्तिक। कालीकोटको रास्कोट नगरपालिकामा युवा प्रतिभाको खोजी र खेलकुद प्रवर्द्धन गर्ने लक्ष्यका साथ ‘तेस्रो मेयर कप–२०८३’ औपचारिक रूपमा सुरु भएको छ। बडिमालिका माध्यमिक विद्यालयको खेल मैदानमा आयोजित भव्य समारोहबीच नगर प्रमुख धर्मराज शाही (पोषण) ले टि–२० क्रिकेट तथा फुटबल प्रतियोगिताको संयुक्त रूपमा उद्घाटन गर्नुभयो।
खेलकुदलाई युवाको ऊर्जा, अनुशासन र शारीरिक विकाससँग जोड्दै स्थानीयस्तरमा लुकेर रहेका प्रतिभालाई उजागर गर्न नगरपालिकाले यस प्रतियोगितालाई निरन्तरता दिएको हो। उद्घाटन समारोहमा नगर प्रमुख शाहीले खेलकुद केवल मनोरञ्जनमा मात्र सीमित नभई युवाहरूलाई कुलतबाट टाढा राख्ने, आपसी भाइचारा बढाउने र राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने प्रभावकारी माध्यम भएको बताउनुभयो।
कार्यक्रममा कर्मचारी, स्थानीय जनप्रतिनिधिहरू, सुरक्षा निकायका अधिकारी, शिक्षक, खेलप्रेमी तथा ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो। नगरपालिकाका विभिन्न वडा तथा क्लबहरूबाट सहभागी टोलीहरूबीच कडा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगिता सुरु भएसँगै रास्कोटको खेल मैदानमा दर्शकहरूको उत्साहजनक उपस्थिति देखिएको छ।