Loading

कर्णालीमा भीषण वर्षा : पछिल्लो १२ घण्टामा दैलेखको कट्टीमा ५८.४ र कालिकोटको नाग्मामा ४१.६ मिलिमिटर पानी दर्ता

कर्णालीमा भीषण वर्षा : पछिल्लो १२ घण्टामा दैलेखको कट्टीमा ५८.४ र कालिकोटको नाग्मामा ४१.६ मिलिमिटर पानी दर्ता

सुर्खेत/कालीकोट, १४ कार्तिक । बङ्गालको खाडीबाट भित्रिएको चक्रवात ‘अर्नब’ को प्रभाव पश्चिम नेपालतर्फ पूर्ण रूपमा केन्द्रित भएसँगै कर्णाली प्रदेशका अधिकांश भू–भागमा पछिल्लो १२ घण्टादेखि भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको स्वचालित मौसमी मापन प्रणाली (AWS) अनुसार कर्णालीका पहाडी तथा हिमाली जिल्लाहरूमा मध्यमदेखि भारी वर्षा रेकर्ड भएको छ।

महाशाखाको पछिल्लो १२ घण्टाको वर्षा मापन तथ्याङ्क अनुसार देशैभरमा सबैभन्दा बढी १०२.२ मिलिमिटरसम्म वर्षा मापन हुँदा कर्णाली प्रदेशमा पनि वर्षाको दर निकै उच्च देखिएको छ। कर्णाली प्रदेशअन्तर्गत सबैभन्दा धेरै वर्षा दैलेखको कट्टी (Katti) मौसमी स्टेसनमा ५८.४ मिलिमिटर दर्ता भएको छ। यसैगरी कालीकोट जिल्लाको नाग्मा (Nagma) स्टेसनमा ४१.६ मिलिमिटर वर्षा रेकर्ड भएको छ।

प्रदेशका अन्य भू–भागहरूमा पनि वर्षाको चाप निकै बढेको छ। सुर्खेत आसपासका स्टेसनहरूमा ४५ देखि ५३.६ मिलिमिटर, दैलेख र जाजरकोटका विभिन्न खण्डमा ३१ देखि ३७ मिलिमिटर, जुम्ला तथा मुगु आसपास ३०.८ देखि ३४.४ मिलिमिटरसम्म वर्षा मापन गरिएको छ। यस्तै, कर्णालीसँगै जोडिएको सुदूरपश्चिम र लुम्बिनी प्रदेशका भू–भागहरूमा पनि ३० देखि ४१ मिलिमिटरभन्दा बढी वर्षा दर्ता भएको छ।

लगातारको वर्षाका कारण कर्णालीका मुख्य सडक सञ्जाल, विशेष गरी कर्णाली राजमार्ग र ग्रामीण सडक खण्डहरूमा पहिरो खस्ने जोखिम उच्च बनेको छ। यस्तै नदी तथा स्थानीय खोलानालाहरूमा पानीको बहाव उल्लेख्य रूपमा वृद्धि भएको छ। वर्षासँगै उच्च हिमाली भेगमा चिसो अत्यधिक बढेको छ भने भित्र्याउने बेला भएको धानबालीमा क्षति पुग्ने चिन्ताले किसानहरूलाई पिरोलेको छ।

स्थानीय प्रशासन तथा जिल्ला विपद् व्यवस्थापन समितिहरूले बाढीपहिरोको उच्च जोखिम रहेका बस्ती तथा सडक खण्डमा यात्रा गर्दा पूर्ण सतर्कता अपनाउन, नदी किनारमा नजान र मौसममा सुधार नआएसम्म सुरक्षित स्थानमा रहन नागरिकहरूलाई आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार