Loading

मन्त्रालयको निर्देशन उल्लङ्घन गरेको ठहरसहित ‘एन प्याब्सन’ निलम्बित

मन्त्रालयको निर्देशन उल्लङ्घन गरेको ठहरसहित ‘एन प्याब्सन’ निलम्बित

काठमाडौँ, १३ कार्तिक । गृह मन्त्रालयले निजी विद्यालयहरूको छाता सङ्गठन राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन)लाई निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम संस्थालाई निलम्बन गर्ने निर्णय भएको औपचारिक जानकारी गराएको हो।

सरकारको पूर्वस्वीकृति लिएर सञ्चालनमा रहेको उक्त संस्थाले मन्त्रालयबाट समय–समयमा जारी गरिएका नीतिगत निर्देशनहरू पटक–पटक उल्लङ्घन गरेको मन्त्रालयको ठहर छ। यसका साथै संस्थाका पदाधिकारीहरूबाट नेपाल सरकारबाट स्वीकृत विधान तथा संस्थाको मूल उद्देश्यविपरीतका अवाञ्छित गतिविधिहरू भइरहेको पाइएपछि मन्त्रालयले यो कडा कदम चालेको जनाएको छ।

यसअघि मन्त्रालयले गत असोज २३ गते सम्बन्धित सरोकारवालाहरूलाई डाकेर छलफल गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा मन्त्रालयले २०८२ मंसिर १२ गते जारी गरेको निर्देशनको परिधिभित्र रहेर मात्र काम गर्न स्पष्ट आग्रह गरेको थियो। तर, सरकारी निकायबाट पटक–पटक ध्यानाकर्षण गराउँदा र निर्देशन दिँदासमेत अटेरी गर्दै निर्देशनहरूको पालना नगरेपछि बाध्य भएर संस्थालाई निलम्बन गर्ने निर्णयमा पुग्नुपरेको मन्त्रालयले स्पष्ट पारेको छ।

निलम्बनको सूचना जारी भएसँगै अब एन प्याब्सनको नाममा कुनै पनि समूह, पक्ष वा गुटले गर्ने सम्पूर्ण गतिविधिहरू पूर्ण रूपमा गैरकानुनी ठहरिने गृह मन्त्रालयले चेतावनी दिएको छ। यदि संस्थाको नाम प्रयोग गरी कुनै पनि गतिविधि सञ्चालन गरिएको पाइएमा संलग्न जो–कोहीलाई प्रचलित कानुनबमोजिम कडा कानुनी कारबाहीको दायरामा ल्याइने मन्त्रालयको सूचनामा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार