कालीकोट, ११ कार्तिक । कालीकोटको पलाँतामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता ‘प्रथम धनमानसिंह–जक्ती स्मृति कप–२०८३’ सुरु भएको छ। मंगलबार एक विशेष समारोहका बीच प्रमुख अतिथि तथा स्थानीय जेष्ठ नागरिक तेजबहादुर बमले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको हो।
पलाँता गाउँपालिका साबिक थिर्पु गाविस वडा नं. ४ मा जन्मनुभएका धनमानसिंह बम (जक्ती बम) पलाँताको खेलकुद क्षेत्रका एक नक्षत्रका रूपमा परिचित हुनुहुन्थ्यो। खेलकुद क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदानको कदर गर्दै उहाँकै स्मृतिमा पालिकास्तरीय खुला भलिबल प्रतियोगिताको आयोजना गरिएको हो।
उद्घाटन समारोहमा कर्णाली प्रदेश खेलकुद परिषद्का बोर्ड सदस्य पंखबहादुर मल्ल, पुर्व गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम, पूर्व राष्ट्रिय भलिबल खेलाडी तथा रेफ्री खेमराज गिरि, कालीकोट जिल्ला भलिबल संघका अध्यक्ष गोरखबहादुर शाही लगायतका विशिष्ट खेल व्यक्तित्व, खेलाडीहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै अतिथिहरूले ग्रामीण क्षेत्रमा आयोजना हुने यस्ता प्रतियोगिताले स्थानीय स्तरका प्रतिभावान खेलाडीहरूलाई राष्ट्रिय स्तरसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। आयोजकले प्रतियोगितालाई सफल बनाउन उपस्थित सम्पूर्ण अतिथि, रेफ्री, खेलाडी तथा खेलप्रेमीहरूलाई धन्यवाद ज्ञापन गरेको छ।
प्रतियोगितामा जिल्लाका विभिन्न स्थानीय तहका भलिबल टोलीहरूको सहभागिता रहेको फाेटाे पत्रकार पुर्ण सिंह बमले जानकारी दिनु भयाे ।