कालीकोट, १० कार्तिक । जल तथा मौसम विज्ञान विभागले देशैभर वर्षा तथा हिमपातको सम्भावना रहेको भनी विशेष बुलेटिन जारी गरेपछि कालीकोटमा पूर्वतयारी तथा सतर्कता तीव्र पारिएको छ। आगामी बिहीबारदेखि मौसम प्रतिकूल हुने देखिएपछि जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले कृषकहरूलाई कात्तिक १२ गतेभित्रै धानबाली काट्न र भित्र्याउन अनुरोध गरेको छ।
मंगलबार जिल्ला प्रशासन कार्यालय, कालीकोटमा प्रमुख जिल्ला अधिकारी छविलाल भट्टराईको अध्यक्षतामा बसेको जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले सम्भावित जोखिम न्यूनीकरणका लागि १२ बुँदे महत्त्वपूर्ण निर्णयहरू गरेको छ। बैठकमा जिल्ला समन्वय समिति, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरू, सरकारी कार्यालयका प्रमुख तथा विभिन्न सरोकारवाला निकायहरूको उपस्थिति रहेको थियो।
बैठकले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार बिहीबारदेखि भारी वर्षा र हिमपात हुनसक्ने भएकाले किसानहरूले धानबाली काट्ने तथा भित्र्याउनेलगायतका कृषि कार्य कात्तिक १२ गते बिहीबार अगावै सम्पन्न गर्न/गराउन आग्रह गरेको छ।
कर्णाली राजमार्गको सुर्खेत–जुम्ला खण्ड तथा ग्रामीण सडक सञ्जालमा वर्षाका कारण पहिरो खस्ने र आवागमन ठप्प हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै पहिरो पन्छाउन आवश्यक डोजर, एक्साभेटर तथा प्राविधिक टोलीलाई तयारी (Standby) अवस्थामा राख्न सडक डिभिजन कार्यालय जुम्ला, खुलालु–सल्लिसल्ला आयोजना तथा सम्बन्धित पालिकाहरूलाई अनुरोध गरिएको छ।
साथै, प्रतिकूल मौसमका बेला कर्णाली राजमार्ग र ग्रामीण सडकका जोखिमयुक्त खण्डहरूमा रात्रिकालीन तथा अत्यावश्यक कामबाहेकको यात्रा नगर्न यातायात व्यवसायी तथा यात्रुहरूलाई सचेत गराइएको छ।
प्रतिकूल मौसम र हिमपातको उच्च जोखिमलाई दृष्टिगत गरी कालीकोट हुँदै रारा ताल जाने पर्यटकहरूको यात्रा तत्कालका लागि स्थगित गर्न आग्रह गरिएको छ। मौसम र सडकको अवस्था सामान्य भएपछि मात्र सम्बन्धित निकायसँग समन्वय गरेर यात्रा सञ्चालन गर्न निर्णय गरिएको छ। यसैगरी, नदी तथा खोला तटीय क्षेत्रका बासिन्दालाई सम्भावित जोखिमबारे पूर्वसूचना दिई आवश्यक परे सुरक्षित स्थानमा जान भनिएको छ।
विपद् व्यवस्थापनका लागि जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका विपद् उद्धार टोली (Search and Rescue Team) लाई उच्च सतर्कता (High Alert) मा राखिएको छ। यस्तै, नेपाल रेडक्रस सोसाइटी, हुरेन्डेक नेपाल, किर्डाक नेपाल, आइएनएफलगायतका गैरसरकारी संस्थाहरूसँग समन्वय गरी त्रिपाल, खाद्यान्न र औषधिको मौज्दात सुनिश्चित गर्ने निर्णय भएको छ। विपद्बाट हुनसक्ने सम्भावित घाइतेहरूको उपचारका लागि जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरूलाई आवश्यक औषधि र जनशक्तिसहित तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
हावाहुरी, चट्याङ्ग तथा पहिरोका कारण विद्युत् पोल, सञ्चारका तार तथा खानेपानीका पाइपमा क्षति पुगेमा तत्काल मर्मत तथा पुनःस्थापना गर्न सम्बन्धित निकायलाई भनिएको छ। साथै, विद्युत् पहुँच नपुगेका महावै, नरहरिनाथ, पलाँता गाउँपालिका तथा तिलागुफा नगरपालिकामा तत्काल विद्युतीकरण गर्न नेपाल विद्युत् प्राधिकरण, खाद्यान्नको सहज आपूर्तिका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र सञ्चार सेवा अवरुद्ध हुन नदिन नेपाल टेलिकमलाई आवश्यक पहल गर्न निर्देशन दिइएको छ।
बैठकले रसुवा भोटेकोशी बाढीमा बेपत्ता भएका कालीकोटका नागरिकहरूको आधिकारिक विवरण यकिन गरी यथाशीघ्र पठाउन सम्बन्धित स्थानीय तहलाई पुनः अनुरोध गर्ने निर्णय समेत गरेको छ।