विराटनगर, कार्तिक ८ गते । स्वदेशमै केही गर्न सकिन्न भन्दै दैनिक हजारौँ युवा विदेश पलायन भइरहेका बेला विराटनगरका एक युवाले आफ्नै घरको समस्या समाधान गर्ने क्रममा विकास गरेको मोबाइल एप अहिले देशभरका हजारौँ व्यवसायीको सारथि बनेको छ। स्थानीय समस्यालाई प्रविधिसँग जोडेर समाजलाई सजिलो बनाउने नवीन सोच र प्राविधिक दक्षताको गतिलो नमुना प्रस्तुत गरेका छन्- विराटनगर–१० का रोहित कुमार गुप्ताले।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत विराटनगरस्थित हिमालय दर्शन कलेजबाट कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (BSc CSIT) अध्ययन गरेका रोहितमा विद्यार्थी जीवनदेखि नै दैनिक जीवनका समस्या प्रविधिबाट हल गर्ने तीव्र हुटहुटी थियो। त्यसै क्रममा उनले आपत्कालीन समयमा सजिलै रक्तदाता खोज्न सकिने ‘Blood 7 Nepal’ नामक उपयोगी एप निर्माण गरेर आफ्नो प्राविधिक क्षमता पहिल्यै प्रमाणित गरिसकेका थिए।
रोहितको परिवारको विराटनगरमा आफ्नै किराना पसल छ। पछिल्लो समय डिजिटल नेपालको लहरसँगै पसलमा ग्राहकले क्युआर कोड (QR) स्क्यान गरेर पैसा तिर्ने क्रम बाक्लियो। तर भीडभाडका बेला ग्राहकले भुक्तानी गरे–नगरेको यकिन गर्न बुबा–आमाले पटक–पटक मोबाइलको स्क्रिन हेर्नुपर्ने झन्झट र सकस रोहितले नजिकबाट नियाले। आफ्ना बाबुआमाको त्यही सानो व्यावहारिक हैरानी हटाउने अठोटबाट उनले ‘पेमेन्ट स्पिकर नेपाल’ (Payment Speaker Nepal) नामक एन्ड्रोइड एपको विकास गरे।
यो एपले मोबाइलमा आउने भुक्तानीको सूचनालाई तत्काल पहिचान गरी पैसा प्राप्त भएको रकम नेपाली आवाजमै प्रस्टसँग बोलिदिन्छ। सुरुमा आफ्नै घरको किराना पसल र टोल–छिमेकका व्यवसायीमाझ परीक्षण गरिएको यो प्रविधि निकै प्रभावकारी ठहरिएपछि रोहितले यसलाई गुगल प्लेस्टोरमार्फत देशभरका प्रयोगकर्ताका लागि खुला गरिदिए। हालसम्म ६० हजारभन्दा बढी पटक डाउनलोड भइसकेको यस एपले प्लेस्टोरमा ५ मध्ये ४.५ स्टारको उत्कृष्ट रेटिङ पाएको छ।
डिजिटल सुरक्षा र गोपनीयतालाई उच्च प्राथमिकतामा राख्दै रोहितले यो एपलाई पूर्ण रूपमा ‘अफलाइन’ चल्ने गरी तयार पारेका छन्। यसले प्रयोगकर्ताको कारोबारसम्बन्धी कुनै पनि गोप्य विवरण बाह्य सर्भरमा नपठाई मोबाइलभित्रै प्रशोधन गर्छ, जसले गर्दा डेटा दुरुपयोग वा वित्तीय जोखिमको सम्भावना रहँदैन। नेपाली व्यापारीहरूलाई आजीवन निःशुल्क सेवा दिने संकल्प लिएका उनले प्रयोगकर्ताको सुझाव अनुसार एपलाई नियमित परिष्कृत र थप भरपर्दो बनाउँदै लगेका छन्।
रोहितको यो प्राविधिक सिर्जनशीलताले नेपाली युवाहरू अवसरको खोजीमा बाहिरिनु मात्र विकल्प नभई आफ्नै भूगोल, माटो र समाजका समस्यामाथि घोत्लिने हो भने घरमै बसेर राष्ट्रिय स्तरका प्रविधि जन्माउन सक्छन् भन्ने तथ्यलाई पुष्टि गरेको छ। युवामा रहेको ज्ञान, लगनशीलता र सीपलाई सही दिशामा प्रयोग गर्न सके डिजिटल नेपालको सपना यस्तै मौलिक आविष्कारबाट साकार हुने देखिन्छ।
13 Responses
Thanks a lot sir…
Speakera kasari bannauna melxa
Speakar kasari banaune
Mero maa bolywna sir
Mero ma Boleyn kina hola sir
Please eSeva mein Paisa Uda bolane per
Keyi Pani vayena
Keyi Pani vayena
K garne
Speaker account posha aauda boldaina
Meroma esewa ma matra vayo phone pay ma vayenata bolenasta hajur
अरु त ठिक लाग्यो तर पैसा आको चाहिँ १० मिनेट २० मिनेट आधी घण्टा पछाडि बोलेको चाहिँ मन परेन
Thanks.