Loading

अन्तर्राष्ट्रिय सूचना प्रविधि मञ्च ‘असोसियो’ को उपाध्यक्षमा नवराज कुँवर पुनः निर्वाचित

अन्तर्राष्ट्रिय सूचना प्रविधि मञ्च ‘असोसियो’ को उपाध्यक्षमा नवराज कुँवर पुनः निर्वाचित

काठमाडौँ, असाेज १९ गते । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का पूर्व अध्यक्ष नवराज कुँवर अन्तर्राष्ट्रिय सूचना प्रविधि संस्था ‘एसियन–ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन’ (असोसियो) को उपाध्यक्ष पदमा पुनः सर्वसम्मत निर्वाचित हुनुभएको छ।

इन्डोनेसियाको जकार्तामा सम्पन्न असोसियोको ४२ औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट कुँवर आगामी सन् २०२७–२०२८ कार्यकालका लागि लगातार तेस्रो पटक उपाध्यक्ष पदमा चुनिनुभएको हो। यसअघि पनि क्यान महासंघको प्रतिनिधित्व गर्दै उहाँले सन् २०२२–२०२४ र २०२५–२०२६ को कार्यकालमा असोसियोको उपाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसक्नुभएको छ।

उपाध्यक्षमा पुनः निर्वाचित भएपछि प्रतिक्रिया दिँदै कुँवरले यस उपलब्धिले नेपाललाई अन्तर्राष्ट्रिय सूचना प्रविधिको मूलधारमा स्थापित गराउने आफ्नो अभियानलाई थप ऊर्जा मिलेको बताउनुभयो। “असोसियोमार्फत एसियाली देशहरूबीच बलियो प्रविधि सञ्जाल विस्तार गरेर नेपाललाई विश्व आईसीटी बजारमा महत्त्वपूर्ण हिस्सेदार बनाउन सकिन्छ,” कुँवरले भन्नुभयो, “यसले स्वदेशी सूचना प्रविधि क्षेत्रमा नवप्रवर्तन, लगानी र अन्तर्राष्ट्रिय सहकार्यका नयाँ ढोकाहरू खोल्नेछ। साथै, विकसित र विकासशील मुलुकहरूबीचको डिजिटल खाडल पुर्न पनि यसले योगदान पुर्‍याउनेछ।”

अधिवेशनले मलेसियाको ‘पिकम’ (PIKOM) का प्रतिनिधि स्टान सिंह–जितको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ समितिमा नेपालसहित मलेसिया, थाइल्यान्ड, मकाउ, म्यानमार, जापान, दक्षिण कोरिया, श्रीलङ्का, भियतनाम, ताइवान, इन्डोनेसिया, लाओस, सिंगापुर र फिलिपिन्सका छाता आईसीटी संगठनका प्रतिनिधिहरू निर्वाचित भएका छन्।

क्यान महासंघका महासचिव चन्द्रविलास भुर्तेलले कुँवरको निरन्तर अन्तर्राष्ट्रिय सहभागिता र कूटनीतिक पहलकै कारण नेपालले विश्व मञ्चमा सर्वसम्मत विश्वास प्राप्त गर्न सफल भएको बताउनुभयो। कुँवरको कार्यकालको सफलताको शुभकामना दिँदै महासचिव भुर्तेलले भन्नुभयो, “असोसियोजस्तो शक्तिशाली क्षेत्रीय मञ्चमा नेपालको बलियो प्रतिनिधित्व हुनुले हाम्रो डिजिटल अर्थतन्त्र विस्तार गर्न, विदेशी प्रविधि र अनुभव भित्र्याउन तथा समृद्ध नेपाल निर्माणको क्यान महासंघको लक्ष्यमा ठूलो टेवा पुग्नेछ।”

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार