काठमाडौँ,असाेज १७ गते । हरेक नेपाली नागरिकलाई सुरक्षित र व्यवस्थित आवासको संवैधानिक अधिकार प्रत्याभूति गराउने महत्त्वाकांक्षी लक्ष्यसहित सरकारले ‘भवन ऐन, २०८३’ को विधेयक संघीय संसद् सचिवालयमा दर्ता गराएको छ। पूर्वाधार विकास मन्त्रालयले शुक्रबार दर्ता गराएको यस विधेयकले विपन्न वर्गका लागि प्रत्यक्ष अनुदानदेखि मध्यम आय भएका परिवारका लागि सहुलियतपूर्ण किस्ताबन्दीमा ‘स्मार्ट घर’ उपलब्ध गराउनेसम्मका महत्त्वपूर्ण व्यवस्थाहरू प्रस्ताव गरेको छ।
विधेयकमा पहिलोपटक आफ्नै घर निर्माण गर्न लागेका नेपाली नागरिकलाई ठूलो राहत दिने व्यवस्था गरिएको छ। जसअनुसार सरकारले तोकेको आधिकारिक ‘टाइप डिजाइन’ र मापदण्ड पालना गरी घर बनाउँदा आवश्यक पर्ने ढुङ्गा, गिट्टी, बालुवाजस्ता नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्रीहरू सरकारले निःशुल्क उपलब्ध गराउनेछ। ग्रामीण भेगका नागरिकलाई लक्षित गर्दै गोठ निर्माणका लागि निवेदन दिने नागरिकलाई समेत यस्ता प्रकृतिजन्य सामग्री निःशुल्क दिने प्रस्ताव समेटिएको छ।
गरिब तथा विपन्न परिवारको आवास अधिकार सुनिश्चित गर्न संघ र प्रदेश सरकारको संयुक्त साझेदारीमा नगद अनुदानको व्यवस्था प्रस्ताव गरिएको छ। विपन्न नागरिकले नयाँ घर निर्माण गर्दा संघीय सरकारबाट ५० हजार रुपैयाँ र प्रदेश सरकारबाट २५ हजार रुपैयाँ गरी कुल ७५ हजार रुपैयाँसम्म सोझै अनुदान पाउनेछन्। यसैगरी बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक विपद्का कारण जोखिममा परेका तथा असुरक्षित बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सरकार स्वयंले नयाँ आवास निर्माण गरिदिने नीति विधेयकले अघि सारेको छ।
मध्यम आय भएका नागरिकका लागि भने सुरक्षित, भूकम्प प्रतिरोधात्मक र आधारभूत मापदण्ड पूरा भएका आधुनिक ‘स्मार्ट घर’ निर्माण तथा वितरण गर्ने योजना ल्याइएको छ। ९ सयदेखि १ हजार ३ सय वर्गफिट प्लिन्थ क्षेत्रमा बन्ने यी घरहरूको लागत २० लाखदेखि ७५ लाख रुपैयाँसम्म रहनेछ। यी घरहरू नागरिकले लामो अवधिको सहुलियतपूर्ण ऋण र किस्ताबन्दी मोडलमा प्राप्त गर्न सक्नेछन्।
किस्ताबन्दी प्रक्रियालाई सहज बनाउन विभिन्न विकल्पहरू प्रस्ताव गरिएका छन्। प्रारम्भिक रूपमा ५ लाख रुपैयाँ डाउनपेमेन्ट (अग्रिम भुक्तानी) गरेपछि १५ वर्षसम्म मासिक ११ हजार रुपैयाँ किस्ता तिरेर नागरिकले घरको स्वामित्व लिन सक्नेछन्। यसबाहेक १० लाख अग्रिम भुक्तानीमा मासिक १५ हजार, १५ लाख अग्रिममा मासिक २० हजार, २० लाख अग्रिममा मासिक ३० हजार र २५ लाख रुपैयाँ अग्रिम भुक्तानी गर्दा मासिक ३५ हजार रुपैयाँ किस्ता तिर्ने गरी लचिलो वित्तीय संरचना प्रस्ताव गरिएको छ।
निम्न वर्गलाई अनुदान र स्रोतसाधनको सहायता तथा मध्यम वर्गलाई सुलभ किस्तामा व्यवस्थित घरको सुनिश्चितता गर्दै आवासविहीनताको समस्या सदाका लागि अन्त्य गर्ने दीर्घकालीन सोचसहित यो ऐन ल्याइएको मन्त्रालयले जनाएको छ।