Loading

एआईको उपभोक्ता मात्र होइन, सिर्जनाकर्ता बनौँ : धनगढीबाट देशव्यापी ‘एआई फर नेपाल २०२६’ को शंखघोष

एआईको उपभोक्ता मात्र होइन, सिर्जनाकर्ता बनौँ : धनगढीबाट देशव्यापी ‘एआई फर नेपाल २०२६’ को शंखघोष

धनगढी,असाेज १५ गते । कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रभावसँगै नेपाली विद्यार्थीलाई केवल उपभोक्तामा सीमित नराखी प्रविधिका निर्माता र समस्या समाधानकर्ता बनाउने लक्ष्यसहित राष्ट्रिय अभियान सुरु भएको छ। कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) सुदूरपश्चिम प्रदेशको आयोजनामा बिहीबार धनगढीबाट ‘एआई फर नेपाल २०२६’ अभियानको औपचारिक थालनी गरिएको हो।

कक्षा ११ र १२ का ४ सयभन्दा बढी विद्यार्थी सहभागी कार्यक्रममा एआईको व्यावहारिक प्रयोग, सम्भावना, चुनौती र भविष्यका सम्भावित करिअर अवसरबारे गहन अभिमुखीकरण प्रदान गरिएको थियो।

क्यान महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष धनबहादुर बोगटीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले एआईले मानव जीवनलाई सहज बनाउँदै लगे पनि यसको प्रयोग जिम्मेवार ढंगले हुनुपर्ने बताए।

शिक्षा, स्वास्थ्य र कृषिजस्ता आधारभूत क्षेत्रमा एआईको सही सदुपयोग गर्न सके सार्वजनिक सेवा प्रवाह, उत्पादकत्व र कार्यसम्पादनमा ऐतिहासिक फड्को मार्न सकिने मुख्यमन्त्री भट्टको भनाइ थियो। उनले प्रविधिको तीव्र विकाससँगै आउने सम्भावित जोखिम, गोपनीयता र सुरक्षाका चुनौतीहरूप्रति नयाँ पुस्ता सचेत रहनुपर्ने आवश्यकता औँल्याए।

क्यान महासंघका केन्द्रीय कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले ‘एआई फर नेपाल २०२६’ एकदिने तालिम मात्र नभई नेपाली विद्यार्थीलाई भविष्यको प्रविधि बजारका लागि तयार पार्ने राष्ट्रियस्तरको रणनीतिक पहल भएको स्पष्ट पारे। क्यान महासंघ र महर्षि कलेजको संयुक्त सहकार्यमा उद्योगगत विशेषज्ञता, शैक्षिक ज्ञान र व्यावहारिक नवप्रवर्तनलाई एउटै मञ्चमा जोडिएको उनले जानकारी दिए।

“हाम्रो उद्देश्य विद्यार्थीलाई एआई चलाउने उपभोक्ता मात्र बनाउनु होइन, उनीहरूलाई सिर्जनाकर्ता, नवप्रवर्तक र समस्या समाधानकर्ताका रूपमा उभ्याउनु हो,” अधिकारीले भने, “स्मार्ट, नवीन र प्रविधिमैत्री नेपाल निर्माण गर्न विद्यालय तहमै व्यावहारिक सीप हस्तान्तरण गर्नु अपरिहार्य भइसकेको छ।”

कार्यक्रममा सैद्धान्तिक ज्ञानभन्दा माथि उठेर विद्यार्थीहरूलाई आधुनिक एआई टुल्सको प्रयोग, प्रभावकारी ‘प्रॉम्प्ट इन्जिनियरिङ’, एआईमा आधारित सिर्जनशीलता तथा यसको जिम्मेवार र सुरक्षित प्रयोगका विषयमा प्रत्यक्ष अभ्यास गराइएको थियो।

क्यान महासंघका केन्द्रीय उपाध्यक्ष हर्क सेटीले सुदूरपश्चिमबाट सुरु भएको यो राष्ट्रिय अभियानलाई क्रमशः देशका सातै प्रदेशमा विस्तार गरिने बताए। विद्यार्थीहरूले नयाँ प्रविधि सिक्दै भविष्यका वैश्विक अवसरहरूसँग आफूलाई प्रतिस्पर्धात्मक बनाउन सक्ने वातावरण निर्माण गर्न यो अभियान देशव्यापी बनाउन लागिएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार