कालीकोट, असाेज १३ गते । कालीकोटको रास्कोट नगरपालिकाले आन्तरिक राजस्व सङ्कलनलाई चुस्त र प्रभावकारी बनाउन आर्थिक कारोबार तथा भुक्तानी प्रक्रियामा कडाइ गरेको छ। नगरपालिकाबाट भुक्तानी लिने सम्पूर्ण फर्म, संस्था, निर्माण व्यवसायी, कम्पनी तथा आपूर्तिकर्ताहरूले अब कर तथा व्यवसाय दर्ता/नवीकरणको अनिवार्य प्रमाण पेस गर्नुपर्ने भएको छ।
स्थानीय व्यवसायीलाई अनिवार्य नवीकरण: रास्कोट नगरपालिका क्षेत्रभित्र सञ्चालित फर्म, संस्था, निर्माण व्यवसायी, कम्पनी, आपूर्तिकर्ता वा सेवा प्रदायकहरूले कुनै पनि भुक्तानी माग गर्दा प्रचलित कानुनबमोजिम व्यवसाय दर्ता तथा चालु आर्थिक वर्षको व्यवसाय नवीकरण प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ।
बाह्य फर्मलाई सूचीकृत हुनुपर्ने बाध्यता: नगरपालिका क्षेत्र बाहिर दर्ता भई रास्कोटसँग कारोबार गर्ने फर्म तथा आपूर्तिकर्ताहरूले नगरपालिकाको नियमअनुसार सूचीकृत (इम्पेनल) भएको प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ। प्रमाणपत्र तत्काल उपलब्ध नभएमा सूचीकृत हुन लाग्ने राजस्व दाखिला गरेको बैंक भौचरको प्रतिलिपि बुझाउनुपर्ने व्यवस्था गरिएको छ।