Loading

संविधान कागजको खोस्टो बन्न दिँदैनौँ, सुशासन र प्रविधिमार्फत संविधान पूरा गर्छौँ: प्रधानमन्त्री बालेन शाह

संविधान कागजको खोस्टो बन्न दिँदैनौँ, सुशासन र प्रविधिमार्फत संविधान पूरा गर्छौँ: प्रधानमन्त्री बालेन शाह

काठमाडौँ, असोज ३ गते । ११औँ ‘संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३’ का अवसरमा राजधानीमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सरकार भ्रष्टाचार नियन्त्रण, डिजिटल सुशासन र चुस्त सेवा प्रवाहका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको घोषणा गर्नुभएको छ।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालको राजनीतिक व्यवस्था परिवर्तनका आन्दोलनहरूमा ज्यान आहुती दिने अज्ञात शहीदहरूसहित ‘जेन्जी सुशासन आन्दोलन’का योद्धाहरू र हालैको रसुवा-भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। उहाँले विपद् उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउने सबै मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदाय, निजी क्षेत्र र राष्ट्रसेवकहरूप्रति आभार व्यक्त गर्नुभयो।

नेपालको वर्तमान संविधानले विविधताबीचको एकता, सबै प्रकारका विभेदको अन्त्य र सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणको वाचा गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानुनी राज्य नै राष्ट्रिय जीवनको मुख्य आधार भएको स्पष्ट पार्नुभयो। संविधान जतिसुकै उत्कृष्ट भए पनि त्यसलाई चलाउने नेतृत्व इमानदार र क्रियाशील नभए त्यो ‘कागजको खोस्टो’ बन्ने भन्दै उहाँले भ्रष्टाचार र दण्डहीनताको जरो उखेल्न सरकार दृढ रहेको बताउनुभयो।

सुशासनलाई केवल नारामा सीमित नराखी कामबाटै सिद्ध गर्ने दाबी गर्दै प्रधानमन्त्री शाहले प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, राजनीतिक तटस्थता र सरकारी तथा सार्वजनिक पदहरूमा मेरिट (योग्यता) का आधारमा नियुक्ति प्रक्रिया सुरु गरिसकिएको जानकारी दिनुभयो। सङ्घ, प्रदेश र स्थानीय तहबीच सहकारिता र समन्वयका आधारमा राष्ट्र विकासको साझा लक्ष्य हासिल गर्न सङ्घीय सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।

यसैगरी, परम्परागत कार्यशैलीबाट माथि उठेर कृत्रिम बुद्धिमत्ता (AI), डिजिटल प्रविधि र साइबर सुरक्षाको प्रयोग गर्दै नवप्रवर्तन र स्टार्टअपलाई प्राथमिकता दिएर ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गरिने उहाँले घोषणा गर्नुभयो। युवा पुस्ताले सडकमा मागेको सुशासन प्रविधिकै माध्यमबाट सुनिश्चित गर्ने भन्दै उहाँले ‘डिजिटल सुशासन ब्लुप्रिन्ट’ अनुसार राष्ट्रिय डिजिटल पूर्वाधार खडा भइरहेको बताउनुभयो।

नेपाल उच्च विपद् जोखिममा रहेको वास्तविकतालाई मध्यनजर गर्दै विपद् आउनुअघि नै पूर्वसूचना प्रणाली (Early Warning System) र पूर्वतयारीलाई सर्वोच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।

सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले संविधान दिवस हरेक वर्ष आए पनि यसलाई पूर्णता दिने काम इमानदार निर्णय, पारदर्शी नियुक्ति र घरदैलोमा पुग्ने चुस्त सेवा प्रवाहबाटै सम्भव हुने बताउनुभयो। “शहीदहरूको रगतले लेखिएको संविधान, हामी कामले पूरा गर्छौँ,” भन्दै उहाँले नागरिकका अपेक्षा पूरा गर्न सरकारको हरेक कदम सुशासन र समृद्धितर्फ नै केन्द्रित रहने दोहोर्‍याउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार