Loading

रसुवा बाढी पहिरो: १,३५७ जनाको शव फेला, करिब ५,३२६ जना सम्पर्कविहीन, राहत तथा उद्धार कार्य तीव्र

रसुवा बाढी पहिरो: १,३५७ जनाको शव फेला, करिब ५,३२६ जना सम्पर्कविहीन, राहत तथा उद्धार कार्य तीव्र

काठमाडौं, भाद्र २३ गते। रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी हालसम्म १ हजार ३५७ जनाको शव फेला परेको छ भने करिब ५ हजार ३२६ जना अझै सम्पर्कविहीन अवस्थामा रहेका छन्।

गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज (२०८३ भदौ २३ गते) दिउँसो १:०० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विपद्पछिको पछिल्लो मानवीय क्षति, खोज, उद्धार तथा राहतको अवस्थाबारे जानकारी दिएको हो।

मानवीय क्षति र सम्पर्कविहीनको अवस्था

प्राधिकरणका अनुसार फेला परेका १,३५७ शवहरूमध्ये विभिन्न स्थानबाट संकलन गरिएको विवरण यस प्रकार छ:

रसुवा: १६९

नुवाकोट: १९७

धादिङ: ७०

गोरखा: ७५

तनहुँ: ३८

चितवन: ३६३

नवलपरासी पूर्व: २२३

नवलपरासी पश्चिम: २२२

फेला परेकामध्ये हालसम्म १०२ वटा शवको मात्र सनाखत भई आफन्तले बुझिलिएका छन्। सनाखत नभएका शवहरूको डिएनए परीक्षणका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा २ वटा फोटो र नाता प्रमाणितसहितको नमुना दिन सकिने व्यवस्था मिलाइएको छ।

यस्तै, सम्पर्कविहीन रहेका करिब ५,३२६ जनामध्ये रसुवाबाट २,८६० जना (रसुवाका १,३९३, अन्य जिल्लाका १,२८६, नेपाली सेना ४५, नेपाल प्रहरी २५, सशस्त्र प्रहरी १२, सरकारी कर्मचारी ७३, बैंक तथा वित्तीय संस्थाका कर्मचारी २६ जना) रहेका छन्। नुवाकोट जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणअनुसार करिब १,९८१ नेपाली नागरिक र करिब ४८७ विदेशी पर्यटक सम्पर्कविहीन छन्।

घाइतेको उपचार र नागरिक उद्धार

बाढीपहिरोमा परी हालसम्म घाइते भएका ६,८२७ जनाको उपचार गरिएको छ। जसमा नेपाली सेनाबाट ३,४०४ जना, सशस्त्र प्रहरीबाट ३,०९६ जना र विभिन्न १० वटा अस्पतालमार्फत ३२७ जना (२४२ जना डिस्चार्ज) ले उपचार पाएका छन्।

हालसम्म १३,५८३ जनाको सकुशल उद्धार गरिएको छ भने ३९ वटा होल्डिङ सेन्टरमा ३,५३३ जनालाई राखिएको छ। जसमा रसुवामा ६६९, नुवाकोटमा २,६४१ र धादिङमा २१३ जना आश्रित छन्।

सुरक्षाकर्मी परिचालन र हवाई उडान

खोज तथा उद्धारका लागि २१,४०२ जना सुरक्षाकर्मी फिल्डमा खटिएका छन्। जसमा नेपाली सेनाका ९,२८७, नेपाल प्रहरीका ७,९१२ र सशस्त्र प्रहरी बलका ४,२०३ जना तैनाथ छन्। हवाई उद्धारका लागि हालसम्म नेपाली सेनाद्वारा १,१५७ पटक, निजी क्षेत्रमार्फत १२९ पटक र सशस्त्र प्रहरी बलद्वारा २०३ पटक हेलिकप्टर उडान गरिएको छ।

नगद राहत, खाद्यान्न र इन्धन आपूर्ति

प्रभावित क्षेत्रका लागि नेपाल सरकारले नगद राहतस्वरूप रसुवालाई १ करोड, नुवाकोटलाई १ करोड, धादिङलाई ५० लाख र अन्य प्रभावित १५ पालिकालाई १३ करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको छ।

यस्तै, प्रभावित क्षेत्रमा खाद्यान्न तथा गैर-खाद्य सामग्री ढुवानी तीव्र पारिएको छ। प्रभावित क्षेत्रमा हाल ५० हजार लिटर डिजेल, १८ हजार लिटर पेट्रोल, १८ हजार लिटर हवाइ इन्धन मौज्दात रहेको छ भने ४५७ ग्यास सिलिन्डर अनुदान पठाइएको छ। विद्युत् आपूर्तितर्फ रसुवामा ७८%, नुवाकोटमा ९६.७% र धादिङमा ९९.८% घरधुरीमा बिजुली सुचारु भइसकेको छ। स्वास्थ्य मन्त्रालयमार्फत मनोसामाजिक परामर्शका लागि १५० भन्दा बढी जनशक्ति प्रभावित क्षेत्रमा परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार