कालीकोट, भाद्र २३ गते। पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने ‘एचपिभी’ (HPV) खोप कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन खाँडाचक्र नगरपालिकामा एक दिने अभिमुखीकरण तथा सूक्ष्म योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ।
खाँडाचक्र नगरपालिका कालीकोटको आयोजनामा सञ्चालित उक्त कार्यक्रममा नगर क्षेत्रभित्र कार्यरत स्वास्थ्यकर्मी, विद्यालय नर्स तथा विद्यालयका शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो। आगामी भदौ ३१ गतेदेखि नगरपालिकाभित्रका विद्यालयहरूमा अध्ययनरत कक्षा ६ का छात्राहरूलाई लगाइने खोप अभियानलाई त्रुटिरहित ढंगले सञ्चालन गर्न पूर्वतयारीस्वरूप यो सूक्ष्म योजना तर्जुमा गरिएको हो।
कार्यक्रमबारे जानकारी दिँदै स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी कटक महतले खोप अभियानको पूर्वतयारी तथा समन्वयका लागि यस्तो महत्त्वपूर्ण अवसर जुटाएकोमा खाँडाचक्र नगरपालिकाको कार्यालयलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो। लक्षित समूहका कुनै पनि किशोरीहरू खोपबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले स्वास्थ्यकर्मी र शिक्षकहरूलाई आवश्यक प्राविधिक तथा व्यवस्थापकीय ज्ञान प्रदान गरिएको आयोजकले जनाएको छ।