काठमाडौँ १४ भाद्र । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म ७३४ जनाको शव फेला परेको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले २०८३ भदौ १४ गते बिहान ९:०० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै २४१९ जना अझै सम्पर्कविहीन रहेको जानकारी दिएको छ। बाढीका कारण घाइते हुनेहरूको संख्या २४२ पुगेको छ, जसमा उपचाररत र डिस्चार्ज भइसकेका दुवै सामेल छन्। प्रभावित क्षेत्रहरूमा प्राविधिक तथा सर्जिकल मेडिकल टिमसमेत निरन्तर परिचालन गरिएको छ।
विभिन्न तल्लो तटीय क्षेत्रहरूबाट हालसम्म ७३४ वटा शव तथा शवका अवशेषहरू फेला परेका छन्। संकलन गरिएका शवहरूमध्ये सबैभन्दा बढी चितवनमा २५९ जना, नवलपरासी पूर्वमा १८४ जना र नवलपरासी पश्चिममा ८२ जनाको शव भेटिएको छ। यसैगरी नुवाकोटमा ५२ जना, धादिङमा ५० जना, गोरखामा ४८ जना, तनहुँमा ३६ जना र रसुवामा १३ जनाको शव फेला परेको छ।
बाढीमा परी सम्पर्कविहीन भएका कुल २४१९ जनामध्ये विभिन्न जलविद्युत् आयोजनाहरूबाट मात्रै ९३३ जना रहेका छन्। जिल्लागत आधारमा रसुवाबाट ५६२ जना, नुवाकोटबाट ११५ जना र मकवानपुरबाट ६५ जना बेपत्ता भएका छन्। यसका साथै सम्पर्कविहीन हुनेहरूमा ५८९ जना विदेशी नागरिक, विदेशी पर्यटकहरूसँगै घुम्न गएका १२७ जना नेपाली नागरिक र लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना रहेका छन्। राष्ट्रसेवकहरूतर्फ नेपाली सेनाका ४५ जना, नेपाल प्रहरीका २७ जना, भन्सार कार्यालयका १५ जना, सशस्त्र प्रहरी बल नेपालका १३ जना र अध्यागमन कार्यालयका ४ जना कर्मचारीहरू अझै बेपत्ताको सूचीमा रहेका छन्।
बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि १९,८९५ जना सुरक्षाकर्मीहरू निरन्तर खटिएका छन्, जसमा नेपाली सेनाका ८,३९९ जना, नेपाल प्रहरीका ७,२९३ जना र सशस्त्र प्रहरी बलका ४,२०३ जना रहेका छन्। हालसम्म सुरक्षा निकायहरूको प्रयासमा कुल ८,१८६ जनाको सफल उद्धार गरिएको छ। उद्धार गरिएकाहरूमा नेपाली सेनाद्वारा २९७४ जना, नेपाल प्रहरीद्वारा २६९९ जना र सशस्त्र प्रहरीद्वारा २५१३ जना रहेका छन्। यसैगरी जलविद्युत्को सुरुङभित्र फसेकाहरूमध्ये भदौ १२ गते १९१ जना र भदौ १३ गते ८८ जना गरी कुल २७९ जनालाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा ल्याइएको छ भने हालसम्म २२७ जना विदेशी नागरिकको हवाई उद्धार गरिएको छ।
पहिचान खुल्न नसकेका शवहरूलाई हाल विभिन्न जिल्लाका २१ वटा अस्पतालहरूमा राखिएको छ। पहिचान नखुलेका शवको विस्तृत विवरण हेर्न चाहनेका लागि नेपाल प्रहरीको आधिकारिक पोर्टल र प्राधिकरणको फेसबुक पेजमार्फत जानकारी लिन सकिने व्यवस्था मिलाइएको छ।
राहत व्यवस्थापनतर्फ नेपाल सरकारले रसुवा र नुवाकोटलाई १/१ करोड रुपैयाँ, धादिङलाई ५० लाख रुपैयाँ तथा प्रभावित १५ पालिकाका लागि कुल ६ करोड ७५ लाख रुपैयाँ नगद राहत निकासा गरिसकेको छ। यसका अतिरिक्त ३७ ट्रक खाद्य तथा गैरखाद्य सामग्री र हेलिकप्टरका ७ उडानमार्फत राहत प्रभावित स्थलमा पठाइएको छ। भदौ १३ गते उत्तरगया र धुन्चेका लागि थप २ टन खाद्य सामग्री तथा आवश्यक उद्धार सामग्री हेलिकप्टरमार्फत पठाइएको छ।
इन्धन आपूर्तिलाई व्यवस्थित बनाउन नुवाकोटका भैरवी, सुर्यमती र पञ्चकन्या आयल स्टोरमा ३६ हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल मौज्दात राखिएको छ। हवाई उद्धारका लागि पठाइएको ३९ हजार लिटर हवाई इन्धनमध्ये हालसम्म २५ हजार लिटर खपत भइसकेको छ भने १४ हजार लिटर मौज्दात अवस्थामा रहेको प्राधिकरणले जनाएको छ।
