Loading

करदाता र प्रविधिमा उत्साहजनक सुधार, तर राजस्व असुली र बक्यौता व्यवस्थापनमा अझै कमजोर

करदाता र प्रविधिमा उत्साहजनक सुधार, तर राजस्व असुली र बक्यौता व्यवस्थापनमा अझै कमजोर

कालीकाेट १० भाद्र । कर्णाली क्षेत्रको अर्थतन्त्र र कर प्रशासनको अवस्था दर्शाउने आन्तरिक राजस्व कार्यालय जुम्लाको तीन वर्षे तथ्याङ्कले सकारात्मक र चुनौतीपूर्ण दुवै चित्र प्रस्तुत गरेको छ। आन्तरिक राजश्व कार्यालय जुम्लाका सूचना अधिकारी तथा कर अधिकृत राेशन बस्नेतले दिनु भएकाे जानकारी अनुसार आर्थिक वर्ष २०८०/०८१ देखि २०८२/०८३ सम्मको आधिकारिक विवरणको गहिरो विश्लेषण गर्दा राजस्व कार्यालयका केही पाटोमा उत्साहजनक सुधार देखिए तापनि मुख्य वित्तीय उपलब्धि भने निकै कमजोर रहेको उजागर भएको छ।

दर्ता र प्रशासनिक चुस्ततामा लोभलाग्दो सुधार

कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार कर्णाली क्षेत्रमा औपचारिक अर्थतन्त्रको दायरा विस्तार हुनु र व्यवसायीहरू करको दायरामा आउनु सबैभन्दा सकारात्मक पक्ष बनेको छ। आव २०८०/०८१ मा १५ हजार ५ सय ६३ रहेका आयकर करदाताको संख्या निरन्तर बढ्दै आव २०८२/०८३ सम्म आइपुग्दा १७ हजार ४५ पुगेको छ। त्यसैगरी मूल्य अभिवृद्धि कर (मू.अ.कर) तर्फ दर्ता हुने करदाताको संख्या पनि १ हजार ५ सय ६१ बाट बढेर १ हजार ७ सय ५१ पुगेको छ।

प्रशासनिक दक्षताका हिसाबले पनि कार्यालयले राम्रो सुधार देखाएको छ। कुल १४ जनाको स्वीकृत दरबन्दीमा १२ जना मात्र कर्मचारी कार्यरत रहे तापनि कार्यालयमा परेका सम्पूर्ण गुनासो तथा उजुरीहरू शतप्रतिशत फर्छौट भएका छन्। यसका साथै सरकारले आर्थिक ऐन, २०८३ मार्फत दिएको छुट सुविधा र प्रोत्साहनका कारण विवरण नबुझाउने (नन-फाइलर) करदाताहरूको संख्या घट्दै जानु र सीमित स्रोत साधनका बाबजुद पूर्ण कर परीक्षण (Full Audit) मार्फत करोडौँ थप राजस्व असुली हुनुलाई कार्यालयको सबल पक्षका रूपमा लिन सकिन्छ।

राजस्व असुली र लक्ष्यमा फराकिलो खाडल

करदाताको संख्या र पहुँचमा सुधार देखिए तापनि कार्यालयको मुख्य जिम्मेवारी मानिने राजस्व संकलनको पाटो भने निरन्तर खस्कँदो र कमजोर स्थितिमा छ। कार्यालयले विगत तीन आर्थिक वर्षमा कुनै पनि वर्ष तोकिएको असुली लक्ष्य पूरा गर्न सकेको छैन। आव २०८०/०८१ मा कुल रु. ५९ करोड १ लाख लक्ष्य राखिएकोमा रु. ४६ करोड १ लाख (७७.९५ प्रतिशत) मात्र असुली भएको थियो। आव २०८२/०८३ सम्म आइपुग्दा असुलीको दर झनै खस्केर ७४.४५ प्रतिशतमा सीमित भएको छ, जहाँ रु. ६४ करोड ४८ लाखको लक्ष्य सामने रु. ४८ करोड १ लाख मात्र संकलन हुन सक्यो।

विशेष गरी बजारको खरिद-बिक्री र व्यावसायिक गतिविधिसँग प्रत्यक्ष जोडिने आयकर र मू.अ.कर दुवैको असुली घट्नुले स्थानीय अर्थतन्त्र सुस्त रहेको संकेत गर्छ। आव २०८१/०८२ मा रु. १३ करोड ५८ लाख संकलन भएको मू.अ.कर आव २०८२/०८३ मा घटेर रु. ९ करोड ८८ लाखमा झरेको छ, जसले बजारमा कारोबार घटेको प्रस्ट पार्छ।

निष्कृय करदाता र असुली रणनीतिमा चुनौती

कार्यालयको अर्को कमजोर पक्षका रूपमा करदाताहरू निष्कृय (Deregistered) हुने क्रम बढ्नु र पुराना बक्यौता समयमै उठ्न नसक्नु रहेको छ। आव २०८२/०८३ सम्मको तथ्याङ्क अनुसार आयकरतर्फ १ हजार २ सय २०, मू.अ.करतर्फ २ सय ६८ र अन्तःशुल्कतर्फ १ सय ९४ करदाता निष्कृय भइसकेका छन्। यसले कर्णालीमा साना तथा मझौला व्यवसायीहरू टिक्न नसकी बजारबाट पलायन भइरहेको वा व्यवसाय बन्द गरिरहेको दुःखद वास्तविकतालाई उजागर गर्छ।

साथै, बक्यौता असुली प्रक्रिया प्रचलित कानुन बमोजिम भइरहेको दाबी गरिए तापनि बक्यौता रकम र असुलीको प्रभावकारी नतिजा आउन नसक्नुले कर प्रशासनको ताकेता र रणनीति कमजोर रहेको देखाउँछ।

सुधारका लागि आगामी बाटो

समग्रमा, जुम्ला राजस्व कार्यालयले करदाताको दायरा बढाउन र प्रशासनिक सेवालाई व्यवस्थित बनाउन सफलता पाए पनि राजस्वको असुली दर सुधार्नु मुख्य चुनौती बनेको छ। आगामी दिनमा घटेको राजस्व बढाउनका लागि केवल करदाता दर्ता गरेर मात्र पुग्दैन; कर छली रोक्न पूर्ण कर परीक्षणको दायरा थप फराकिलो बनाउनु पर्नेछ। साथै, पुराना बक्यौता असुलीमा कडा कानुनी कदम चाल्दै बन्द हुने अवस्थामा पुगेका स्थानीय व्यापार-व्यवसायलाई चलायमान बनाउनेतर्फ नीतिगत पहल गर्न आवश्यक देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार