वीरेन्द्रनगर ३ भाद्र। कर्णाली प्रदेश सरकारमा मन्त्रालयको जिम्मेवारी बाँडफाँट र मन्त्री चयनको किचलो सुल्झिएसँगै नेकपा (एमाले) बाट मन्त्री बन्ने नेताहरूको टुंगो लागेको छ। एमालेले पाउने मन्त्रालय र मन्त्रीहरूको नाम तय भएपछि उहाँहरूको शपथ ग्रहणको तयारी सुरु भएको छ।
एमालेका तर्फबाट हुम्लाका कलबहादुर हमाल जलस्रोत तथा ऊर्जा विकास मन्त्री, मुगुका जितबहादुर मल्ल सामाजिक विकास मन्त्री र जुम्लाका टेकराज पछाईँ आर्थिक मामिला तथा योजना मन्त्री बन्ने पक्का भएको हो।
एमालेले आफ्नो कोटाका मन्त्रीहरूको नाम टुंग्याएर शपथको तयारी गरे पनि मुख्य सत्ता साझेदार दलले भने मन्त्रीहरूको नाम अझै अन्तिम रूप दिन सकेको छैन। मन्त्रालय र आकांक्षी धेरै भएकाले आन्तरिक छलफल र भागबन्डाको गृहकार्य जारी रहेकाले अर्को दलको तर्फबाट मन्त्री बन्नेहरूको सूची आउन बाँकी रहेको छ।
मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेसँगै सरकारलाई पूर्णता दिन मन्त्रिपरिषद् विस्तारको प्रक्रिया तीव्र पारिएको छ। एमाले मन्त्रीहरूको शपथ केही बेरमा गराउने गरी प्रदेश प्रमुखको कार्यालयमा तयारी भइरहेको छ।