दैलेख, ३ असार । मुगुबाट सुर्खेततर्फ जाँदै गरेको एक मिनि ट्रकका सहचालक दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकास्थित कर्णाली नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका छन् ।
मङ्गलवार दिउँसो चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ७ स्थित तारबजार नजिकै क.प्र.०२-००१ क ०७८० नम्बरको मिनि ट्रक सडक छेउमा रोकिएको थियो । जुम्ला जिल्लाको तातोपानी गाउँपालिका वडा नं. ५ बस्ने २९ वर्षीय चालक गोकर्ण डाँगीले चलाएको उक्त गाडी रोकेर नदीमा नुहाउन पसेका डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिका (वडा नखुलेको) बस्ने वर्ष २३/२४ का सहचालक नवीन रोकायलाई कर्णाली नदीको तीव्र बहावले बगाएर बेपत्ता बनाएको हो ।
घटना भएको जानकारी प्राप्त हुनासाथ स्थानीय प्रहरी प्रशासनको टोली घटनास्थलमा परिचालन गरिएको छ । प्रहरी चौकी पाल्तडाबाट प्र.ह. दीपक थापाको कमाण्डमा ३ जना, प्रहरी चौकी तल्लोडुङ्गेश्वरबाट प्र.ह. दीपेन्द्र बहादुर रावलको कमाण्डमा ३ जना, इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक सरोज कँडेलको कमाण्डमा ७ जना र जलविद्युत हाइड्रोपावर सुरक्षा डाभाबाट सशस्त्र प्रहरी नायब निरीक्षक (स.प्र.नि.) विजय डाँगीको कमाण्डमा ८ जना गरी कुल २१ जना सुरक्षाकर्मीको संयुक्त टोली खोजतलासका लागि खटिएको छ ।
प्रहरी चौकी पाल्तडाबाट करिब ३ किलोमिटर पश्चिम क्षेत्रमा पर्ने उक्त घटनास्थलमा सुरक्षा निकायले अथक प्रयास गर्दा पनि हालसम्म बेपत्ता रोकाय फेला पर्न सकेका छैनन् । घटनाका सम्बन्धमा थप अनुसन्धानका लागि मिनि ट्रकका चालक गोकर्ण डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएकाे छ ।