दैलेख, १८ जेष्ठ । सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको जिप दैलेखमा दुर्घटनामा परेको छ। भैरवी गाउँपालिका वडा नं. ७, कालिगौडास्थित भित्री सडक खण्डमा आज दिउँसो भएको सो दुर्घटनामा परी ८ जना घाइते भएका छन्।
सु.प.०१००१ च ४९६४ नम्बरको डबल क्याप बोलेरो जिप आज दिउँसो करिब १२:५५ बजेको समयमा दुर्घटनामा परेको हो। प्रहरीका अनुसार गुडिरहेको उक्त जिपको अचानक ब्रेक फेल हुँदा अनियन्त्रित भई सडकबाट करिब ३०० देखि ४०० मिटर तल खसेको थियो।
घटनाको जानकारी प्राप्त हुनासाथ उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको थियो। दैलेख प्रहरीले दिएको जानकारीअनुसार दुर्घटनामा परेका ८ जनामध्ये हालसम्म ५ जनालाई उपचारका लागि पठाइसकिएको छ भने बाँकी ३ जनाको उद्धार कार्य जारी छ।
दुर्घटनास्थलमा उद्दार कार्य भइरहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।