कालीकोट २ जेष्ठ । कालीकोटको महावै गाउँपालिका खेलकुद विकास समिति, गैराखाडाको आयोजनामा जिल्लास्तरीय खुला क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ। प्रदिया फाउन्डेसन, ओदा फाउन्डेसन र महावै गाउँपालिकाको संयुक्त साझेदारीमा यो प्रतियोगिता आयोजना गर्न लागिएको हो। समितिले एक सूचना जारी गर्दै जिल्ला भित्रका सम्पूर्ण खेलाडीहरूलाई टिम दर्ताका लागि आह्वान गरेको छ।
खेलकुद विकास समितिका अनुसार प्रतियोगिता आगामी २०८३ जेठ ५ गतेदेखि जेठ ८ गतेसम्म महावै गाउँपालिका वडा नं. २, सेरामा सञ्चालन हुनेछ। खेलहरू प्रत्येक दिन बिहान ९ बजेदेखि सुरु हुनेछन्।
प्रतियोगितामा सहभागी हुनका लागि टिम दर्ता सम्बन्धी नियमहरू यस प्रकार तोकिएका छन्:
टिम दर्ताको अन्तिम मिति: २०८३ जेठ ४ गते बेलुका ५ बजेसम्म।
टिम दर्ता शुल्क: प्रति टिम २,००० रुपैयाँ (अक्षरेपी दुई हजार मात्र)।
आवश्यक कागजात: सम्बन्धित जिल्ला भित्रको नेपाली नागरिकताको प्रतिलिपि अनिवार्य हुनुपर्नेछ। नागरिकता नभएका खेलाडीको हकमा जन्मदर्ताको प्रतिलिपि मान्य हुनेछ।
पोशाक: प्रतियोगिता अवधिभर खेलाडीहरूको गेम ड्रेस अनिवार्य गरिएको छ।
स्थानीय स्तरमा नयाँ र उदीयमान प्रतिभाहरूलाई विशेष प्राथमिकता दिने उद्देश्यले समितिले एउटा महत्वपूर्ण नियम लागु गरेको छ। कालीकोट जिल्लाबाट प्रदेश स्तरमा सिनियर खेल खेलिसकेका खेलाडीहरूले यस प्रतियोगितामा भाग लिन पाउने छैनन्। यद्यपि, उमेर समूह अन्तर्गत यू-१९ (U-19) खेल खेलेका खेलाडीहरूको हकमा भने यो नियम लागू हुने छैन।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ:
विजेता टिम: ५५,००० रुपैयाँ (पचपन्न हजार)।
उपविजेता टिम: ३५,००० रुपैयाँ (पैँतीस हजार)।
खेलकुद विकास समितिका अध्यक्ष निरक बहादुर सिंहका अनुसार प्रतियोगिता सम्बन्धी थप जानकारी वा टिम दर्ताका लागि ९८४७३६६१०१ मा सिधै सम्पर्क गर्न सकिनेछ। कालीकोटमा क्रिकेटको क्रेज बढिरहेका बेला आयोजना हुन लागेको यस प्रतियोगितालाई स्थानीय खेलप्रेमीहरूले निकै चासोका साथ हेरेका छन्।