राँचुली, ६ वैशाख । कर्णालीको विकट तिलागुफा नगरपालिकाले धुवाँमुक्त नगर बनाउने आफ्नो संकल्पलाई मूर्तरूप दिँदै “एक घर, एक चुलो” वितरण अभियानलाई तीव्रताका साथ अगाडि बढाएको छ। यसै क्रममा तिलागुफा नगरपालिका वडा नम्बर ८ ओखरभिटामा सुधारिएको चुलो वितरण कार्यको शुभारम्भ गरिएको छ। तिलागुफा नगरपालिका र कृन नेपालको समन्वय, टिडिएच जर्मनको आर्थिक सहयोग तथा सहास नेपालको प्राविधिक सहयोगमा सञ्चालित यस कार्यक्रमले वर्षौँदेखि भान्साको धुवाँमा कष्टकर जीवन बिताइरहेका आमाहरूको स्वास्थ्यमा ठूलो राहत पुग्ने विश्वास गरिएको छ।
नगरपालिकाले नगरबासी समक्ष गरेको प्रतिबद्धता अनुसार अबका केही दिनभित्रै नगरपालिकाका सबै वडाका करिब ३ हजार २०० घरपरिवारमा सुधारिएको चुलो पुग्ने नगर उपप्रमुख महेन्द्र बहादुर शाहीले बताउनु भयाे । ओखरभिटामा वितरण सुरु भएसँगै अबको दुई–तीन दिनभित्र वडा नम्बर ७ छाप्रेमा पनि चुलो वितरण कार्य सम्पन्न गरिने लक्ष्य राखिएको छ। यसअघि नै नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५, ६, ९, १० र ११ मा सफलतापूर्वक चुलो वितरण गरिसकिएको छ। बाँकी रहेका वडाहरूमा पनि धमाधम काम भइरहेकाले तिलागुफा छिट्टै धुवाँमुक्त नगरपालिका बन्ने दिशामा अग्रसर देखिएको छ।
सुधारिएको चुलोको प्रयोगले दाउराको खपत कम हुने, भान्सा सफा रहने र धुवाँका कारण लाग्ने श्वासप्रश्वास तथा आँखा सम्बन्धी रोगहरूबाट ग्रामीण क्षेत्रका महिलाहरूलाई जोगाउन मद्दत पुग्ने प्राविधिक पक्षको दाबी छ। स्थानीय सरकार र विभिन्न दातृ निकायहरूको यो साझा प्रयासले ग्रामीण जीवनस्तरमा सुधार ल्याउनुका साथै वातावरणीय संरक्षणमा समेत योगदान पुर्याएको भन्दै स्थानीय बासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। नगरपालिकाले यस अभियानलाई पूर्ण रूपमा सफल पार्न सबै वडाबासी र सरोकारवाला निकायहरूलाई सक्रिय सहयोगका लागि आग्रह गरेको छ।