कालीकोट भाद्र २४ गते । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको दुल्लु नगरपालिका वडा नं. १ स्थित भम्लुको खोलामा खसेको सुक्खा पहिरो पन्छाएपछि राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।
मंगलबार (भदौ २३ गते) राति ९:१० बजेतिर सडकमाथिबाट एक्कासि ठूलो सुक्खा पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा ठप्प बनेको थियो। निरन्तर पहिरो खसिरहेकाले रातिको समयमा पन्छाउन सम्भव नभएपछि बुधबार (भदौ २४ गते) बिहान ६:०० बजेदेखि प्रहरी र सडक विभागको संयुक्त टोलीले जेसीबी प्रयोग गरी पहिरो पन्छाउने काम सुरु गरेको थियो।
दैलेख प्रहरीका अनुसार निरन्तरको प्रयासपछि बिहान १०:०० बजेदेखि सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। सडकमा रोकिएका सवारी साधनहरूलाई गन्तव्यतर्फ पठाउन सुरु गरिएको र बाँकी पहिरो पन्छाएर राजमार्गलाई पूर्ण रूपमा दुईतर्फी सञ्चालन गराउने कार्य भइरहेको छ।
उक्त स्थान तल्लो डुङ्गेश्वर प्रहरी चौकीभन्दा करिब ५ किलोमिटर दक्षिणमा पर्दछ। सडक एकतर्फी मात्र खुलेकाले सवारी चालक तथा यात्रुहरूलाई धैर्यताका साथ र सावधानीपूर्वक यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ।