कालीकोट भाद्र २४ गते । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको दुल्लु नगरपालिका वडा नं. १ स्थित भम्लुको खोलामा सुक्खा पहिरो खस्दा यातायात सेवा पुनः अवरुद्ध भएको छ।
प्रहरीका अनुसार मंगलबार (भदौ २३ गते) राति ९:१० बजेको समयमा सडकमाथिबाट एक्कासि सुक्खा पहिरो खसेपछि राजमार्ग ठप्प बनेको हो। घट्नास्थलमा प्रहरी चौकी तल्लो डुङ्गेश्वरबाट प्रहरी टोली खटिसकेको छ।
सडक विभागसँग आवश्यक समन्वय गरी पहिरो पन्छाउनका लागि जेसीबी मेसिन तयारी अवस्थामा राखिएको र पहिराे पन्छाउन करिव २ घण्टा लाग्ने जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी श्रवण कुमार बिकले बताउनु भयाे ।
माथिबाट निरन्तर सुक्खा पहिरो खसिरहेकाले राति काम गर्न जोखिमपूर्ण रहेकाले सुरक्षाको अनुकूलता हेरेर आज (भदौ २४ गते) बिहान ६:०० बजेदेखि काम सुरु गरिएकाे छ।
उक्त स्थान प्रहरी चौकी तल्लो डुङ्गेश्वरभन्दा करिब ५ किलोमिटर दक्षिणतर्फ पर्दछ। सडक अवरुद्ध भएकाले कर्णाली राजमार्ग भई यात्रा गर्ने यात्रु तथा सवारी साधनहरूलाई धैर्य धारण गर्न र सडकको अवस्थाबारे बुझेर मात्र यात्रा गर्न अनुरोध गरिएको छ।