दैलेख, भदौ २३ गते। दैलेख जिल्लाको दुल्लु नगरपालिका–१ अन्तर्गत कर्णाली राजमार्गको भम्लुखोला क्षेत्रमा सुख्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
प्रहरी चौकी तल्लो डुङ्गेश्वरका अनुसार सोमबार राति करिब ९:१० बजे माथिबाट ठूलो मात्रामा सुख्खा पहिरो झरेपछि सडक अवरुद्ध भएको हो। घटनापछि प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको छ।
हाल डुङ्गेश्वरबाट कालिकोटतर्फ जाँदै गरेका ५ वटा सवारी साधन तथा कालिकोटबाट सुर्खेततर्फ आउँदै गरेका करिब ३० वटा सवारी साधन बाटोमै रोकिएका छन्। सडक सञ्चालनका लागि सडक विभागसँग समन्वय गरिएको प्रहरीले जनाएको छ।
पहिरो पन्छाउन जेसिबी तयारी अवस्थामा राखिएको भए पनि निरन्तर पहिरो झरिरहेकाले तत्काल काम गर्न जोखिम रहेको बताइएको छ। सुरक्षा अवस्था अनुकूल भएपछि मंगलबार बिहान ६ बजेदेखि सडक खुलाउने कार्य सुरु गरिने तयारी गरिएको छ।
घटनास्थल प्रहरी चौकी डुङ्गेश्वरबाट करिब ५ किलोमिटर दक्षिणतर्फ पर्ने जनाइएको छ। वर्षायामका कारण पहिरोको जोखिम अझै कायम रहेकाले यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ।
सडक पूर्ण रूपमा अवरुद्ध रहेकाले कर्णाली राजमार्ग प्रयोग गर्ने यात्रुहरूलाई वैकल्पिक व्यवस्था मिलाउन तथा आधिकारिक सूचना नआएसम्म यात्रा नगर्न आग्रह गरिएको छ।