कालीकोट, भाद्र २३ गते। अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो खसेर तीन दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग आज (मंगलबार) दिउँसोदेखि दुईतर्फी रूपमै पूर्ण सञ्चालनमा आएको छ।
गएको भदौ २० गते बेलुका ७:०० बजेदेखि लेदो, हिलो र गेग्रानसहितको पहिरोका कारण राजमार्गको गगने खोला, एस-मोड, सिम्ले खोला, सिम्ले मोड तथा पिली खण्ड पूर्ण रूपमा बन्द भएको थियो। सडक डिभिजन, प्राविधिक टोली र सुरक्षा निकायको निरन्तर प्रयासपछि आज भदौ २३ गते दिउँसो २:४५ बजेबाट अवरोध पन्छाएर बाटो दुवैतर्फी खुलाइएको सडक डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख तथा इन्जिनियर श्रवण कुमार महतराले बताउनुभयो।
सडक खुलाउन फिल्डमै खटिएर आवश्यक समन्वय तथा सहजीकरण गर्ने जिल्ला प्रशासन कार्यालय कालीकोट, जिल्ला प्रशासन कार्यालय जुम्ला तथा जिल्ला प्रहरी कार्यालय कालीकोट लगायत सम्पूर्ण सरोकारवाला निकायलाई धन्यवाद ज्ञापन गरिएको छ।
वर्षायामको समयमा पहिरो खस्ने जोखिम अझै उच्च रहेकाले यस राजमार्गमा यात्रा गर्दा विशेष सुरक्षा सतर्कता तथा सावधानी अपनाउन इन्जिनियर महतराले हार्दिक अनुरोध गर्नुभएको छ। सडक सञ्चालनमा आएसँगै लामो समयदेखि बीच बाटोमै रोकिएका यात्रुवाहक तथा मालवाहक सवारी साधनहरू गन्तव्यतर्फ प्रस्थान गरेका छन्।