कालीकोट २२ भाद्र । अविरल वर्षाका कारण कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला सडक खण्ड) र नाग्म–गमगढी सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्। निरन्तरको वर्षा, पहिरो र सडक कटानका कारण राजमार्गका विभिन्न स्थानमा व्यापक क्षति पुगेपछि सडक यातायात ठप्प बनेको हो।
जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार भाद्र २१ गते अपराह्न ५:२० बजे खाँडाचक्र नगरपालिका ७ र ८ को सिमानास्थित पिली र बिर्तामोडको बीचमा पर्ने रातोपहाडा क्षेत्रमा ५ देखि ७ मिटरसम्म सडक तल भासिएको छ। यसअघि भाद्र २० गते रातिदेखि नै शुभकालिका–१ स्थित गगने खाेलामा पहिरोका कारण अवरुद्ध सडक खुलाउन सकिएकाे छैन । अत्यधिक वर्षाका कारण एस-मोडमा ठूला चट्टान खसेको छ भने पिली क्षेत्रमा लेदो र गेग्रानले सडकको बेस नै बगाएको छ। यस्तै नाग्म–गमगढी सडक खण्डको पिना–झ्यारी–ताल्चा क्षेत्र पनि पूर्ण रूपमा ठप्प छ।
सडक डिभिजन कार्यालय जुम्ला र जिल्ला प्रहरी कार्यालय कालीकोटले बाटो पूर्ण रूपमा सञ्चालन भएको आधिकारिक सूचना नआएसम्म यात्रा नगर्न अपिल गरेका छन्।
यसैबीच, जिल्ला प्रशासन कार्यालय कालीकोटले सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माद्वारा हस्ताक्षरित अपिल जारी गर्दै भारी वर्षाका कारण बाढी, पहिरो, चट्याङ र सडक अवरोधजस्ता विपद्को जोखिम बढेकाले सबै जिल्लाबासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रशासनले पहिरोग्रस्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा अस्थायी बसोबासको व्यवस्था मिलाउन, कर्णाली र तिला नदी किनारका बस्तीलाई सजग रहन, तथा खोला किनारमा दाउरा सङ्कलन वा माछा मार्न नजानी गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको विशेष हेरचाह गर्न अनुरोध गरेको छ। कुनै पनि विपद्को घटना घटेमा जिल्ला प्रशासन (९८५८३३७७७७), जिल्ला प्रहरी (९८५८३३५५५५) वा नजिकैको सुरक्षा निकायमा तत्काल सम्पर्क गर्नसमेत आह्वान गरिएको छ।